हरिवनको कैलाशपुरीमा भिजिट नेपालको बैठक

394

हरिवन – नेपाल भ्रमण वर्ष २०२० महाअभियानलाई सफल बनाउन सर्लाहीमा गठन भएको जिल्ला समन्वय समितिको बैठक एवं विस्तृत भेला शनिबार सर्लाहीको हरिवनमा सम्पन्न भएको छ ।

हरिवनस्थित चुरे क्षेत्रमा रहेको धार्मिक तथा पर्यटकीय स्थल कैलाशपुरी महादेव मन्दिर परिसरमा समितिको दोस्रो जिल्ला बैठक एवं विस्तृत भेला बसेको हो । नेपाल भ्रमण वर्ष २०२० जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष वैकुण्ठ सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा प्रदेश सभा सदस्य डिल्ली प्रसाद उपे्रतीको प्रमुख आतिथ्यता एवं जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाई लगायतको विशिष्ट आतिथ्यता रहेको थियो । हरिवन नगरपालिका वडा नं. ९ का वडाध्यक्ष सीताराम पोखरेल, बरहथवा नगरपालिका–९ का वडाध्यक्ष तुलसी लुईंटेल, नेकपाका नेता विनय कर्ण, नेतृ सञ्चिता घिमिरे लगायतले नेपाल भ्रमण वर्षलाई सफल बनाउन आ–आफ्नो ठाउँबाट सहयोग र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै भिजिट नेपाल वर्ष सफल पार्न सबै पक्ष, तह र तप्काले आ–आफ्नो ठाउँबाट सकृय हुनुपर्ने आवश्यकता रहेको उनीहरुको धारणा थियो ।

वक्ताहरुले जिल्लामा पर्यटकीय सम्भावना बोकेका थुपै्र धार्मिक तथा ऐतिहासिक स्थल रहेकाले तिनीहरुको व्यवस्थापन र प्रचारप्रसारमा जुट्नु पर्नेमा जोड दिए । पालैपालो जिल्लाको पर्यटकीय स्थलहरुमा बैठक बस्ने निर्णय अनुसार नेपाल भ्रमण वर्ष २०२० महाअभियान जिल्ला समन्वय समिति सर्लाहीको दोस्रो बैठक आज कैलाशपुरी मन्दिरमा बसेको हो । यसअघि पहिलो बैठक चन्द्रनगर गाउँपालिकास्थित नाढीमन तालको परिसरमा बसेको थियो । सरकारले गौरवका साथ अघि बढाएको भ्रमण वर्षलाई सफल बनाउन जिल्लाका सबै निकायसँग समन्वय गरिरहेको समितिका सर्लाही जिल्ला संयोजक सापकोटाले जानकारी दिए ।