बरहथवामा प्रभु बैंकको शाखा सञ्चालन

503

बरहथवा – सर्लाहीको बरहथवामा शुक्रबार प्रभु बैंकको शाखा स्थापना भएको छ ।

बैंकको बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोले उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै मेयर महतोले क श्रेणीका बैंकहरुको स्थापनाले बरहथवा नगरपालिका क्षेत्रको आर्थिक समृद्धिमा निकै टेवा पुग्ने विश्वास व्यक्त गरे । ठूलाखाले वितिय संस्थाहरुको स्थापनाले बरहथवाका उद्योगी व्यापारीहरुले विशेष लाभ लिनसक्ने मेयर महतोको भनाई थियो । विशेषगरी साना व्यवसायी एवं किसानलाई सहज एवं सर्वसुलभ कर्जा प्रवाह गरेर ग्राहकको मन जित्न मेयर महतोले बैंक व्यवस्थापनलाई आग्रह गरे ।

जिल्लाकै मुख्य व्यापारिक केन्द्र रहेकाले बरहथवा शाखाले राम्रो काराबोर गर्ने बैंकका प्रदेश दुई प्रमुख मन्त्रीलाल गुप्ताले विश्वास व्यक्त गरे । ग्राहकलाई सहज एवं सर्वसुलभ ढंगले सेवा दिनका लागि कुनै कञ्जुस्याँई नगरिने उनको प्रतिबद्धता थियो ।

शाखा प्रवन्धक होमनाथ दाहालका अनुसार प्रभु बैंकको बरहथवा शाखा २०० औँ हो । शाखाले निकट भविष्यमै एटिएम सेवा समेत सञ्चालनमा ल्याउने बताईएको छ । केही साताअघि मात्रै जिल्लाकै बयलवास बजारमा प्रभु बैंकको १९९ औँ शाखा स्थापना भएको थियो ।