भारतबाट तीन बालक सहित १० जनाको उद्धार

167
उद्धार गरिएकाहरुसँगै सामाजिक अभियन्ता सरोज यादव । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – भारतमा श्रम शोषणमा परेका तीन बालक सहित १० जनाको उद्धार भएको छ ।

बिगत एक महिनादेखि भारतको बिहार राज्यको सीतामढी बालगृहमा बस्दै आएका सर्लाहीका ८ तथा पर्साका २ गरी १० जनाको उद्धार गरिएको हो । जबर्जस्ती श्रमशोषणमा परेका दशैजनालाई उद्धार गरि बिहीवार नेपाल ल्याइएको छ ।

सामाजिक अभिन्यता सरोज रायले अपहरित तथा श्रमिक बालबालिकालाई उद्धार गरि जिल्ला प्रशासन कार्यालय सर्लाहीको रोहबरमा परिवारको जिम्मा लगाएका हुन् । उद्धार गरिएकाहरुमा ८ जना सर्लाहीका र २ जना वीरगंजका रहेका छन् । उद्धार गरिएका मध्ये ७ जना बालकालाई श्रमिकको रुपमा भारततर्फ लैजादैं गरेको अवस्थामा भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो । ३ जनालाई अपहरणकारीले भिख मागउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको सामाजिक अभिन्यता रायले बताएका छन् ।

उद्धार गरिएकाहरुमा लालबन्दी नगरपालिका–२ जुटपानीका ११ वर्षीय बिरबल पासवान, चन्द्रनगर गाउँपालिका–२ का १७ वर्षीय गंगा माझी मुसहर, १५ वर्षीय बीरबहादुर सदा, १७ वर्षीय जनक माझी, १४ वर्षीय भोला माझी, वडा नं. ६ का १६ वर्षीय रामचन्द्र माझी, १५ वर्षीय स्नेही माझी र इश्वरपुर नगरपालिका–११ का सीताराम माझी, वीरगंजका १० वर्षीय किशन पटेल तथा सोही ठाउँका ८ वर्षीय सदरेआलम नदाफ रहेका छन् ।

वीरगंजबाट पप्पु पाण्डे नाम गरेका व्यक्तिले आफुहरुलाई अपहरण गरेर लगेको बिरबल, किशन र सदरे आलमले बताएका छन् । रक्सौल घुमाई दिन्छु भनेर फकाएर आफुहरुलाई पाण्डेले भारतमा लगेको उनीहरुले बताएका छन् । ‘बचाउनका लागि चिच्याउँदा नषालु औषधी खुवाएर कहाँ लगे थाहा भएन् ।’ बालकहरुले भने । उनीहरुको अनुसार पाण्डेसँग दुईजना महिलाहरु पनि थिए ।

बालक सहित श्रमशोषणमा परेकाहरुलाई नियन्त्रणमा लिएर गएको ४÷५ दिन पछि भिख माग्ने कार्यमा लगाएको थियो । भिख माग्न नमान्दा महिला र पाण्डेले पिट्ने गरेको बिरबल पासवानले बताए । उद्धार गरी ल्याइएकाहरु मध्ये तीनजना बालक सडकमा माग्न लगाइएको बेला र ६ किशोर तथा एक युवालाई भारतको विभिन्न सहर जाने क्रममा भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएर बालगृहमा पु¥याएको थियो ।

बालकहरुलाई सडकमा भिख माग्दै गरेको देखेपछि भारतीय प्रहरीले नियन्त्रणमा लिएर बालआश्रममा जिम्मा लगाएको हो । त्यस्तो खबर आएपछि सामाजिक अभियन्ता सरोज यादवले सर्लाही जिल्ला प्रशासन कार्यालयबाट पत्र लेखाएर उनीहरुको उद्धार गरेका हुन् ।

ललाई फकाई भारत लगेका बालक आलम, बिरवल कुमार र पटेललाई भने सडकमा माग्दै गरेका बेला भारतीय सुरक्षाकर्मीले बालगृहमा पु¥याएका थिए । घर परिवारलाई थाहै नदिई भागेका ६ किशोर र एक युवा भारतको विभिन्न सहरहरुमा जाँदै गरेका बेला भारतीय सुरक्षाकर्मीले उनीहरुलाई नियन्त्रणमा लिई बालगृहमा राखेका थिए । सितामढी बालगृहले दिएको सूचना अनुसार ती किशोरहरुका अभिभावकसँग सम्पर्क गरी स्वदेश फिर्ता ल्याउन ग्रोइङ नेपाल फाउण्डेशनले पहल गरेको थियो ।

त्यस्तै अर्का एक जना ठेक्केदारले भारतको हरियाणा प्रान्तमा काम गराउन लैजादैं गर्दा भारतीय प्रहरीले आफुहरुलाई उद्धार गरि बालगृहमा पूर्याएको माझीले जानकारी दिए । बालकहरुलाई लैजाने ठेकेदारलाई हाल प्रहरी नियन्त्रणमा राखिएको छ । एक महिना भन्दा बढी समयदेखि आफूहरु बालगृहमा बसेको पीडितले गुनासो गरे ।