लालबन्दी र बरहथवा नगरपालिकाले विवरण पठाएनन्

175

लालबन्दी – सर्लाहीका दुई स्थानीय तहले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा खर्च विवरण नपठाएको बताईएको छ ।

लालबन्दी र बरहथवा नगरपालिकाले समुदाय व्यवस्थित सिंचित कृषि क्षेत्र आयोजनाको आर्थिक वर्ष २०७५/०७६ को खर्च विवरण कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा नपठाएको बताईएको छ । यथाशिघ्र खर्च विवरण उपलब्ध गराउन कृषि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेपछि यस्तो खुलासा भएको हो । कृषि मन्त्रालयले मुलुकभरका २६ स्थानीय तहले अटेरी गरेर खर्च विवरण नपठाएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ ।

खर्च विवरण नपाउँदा आयोजनाको दातृ संस्था एसियाली विकास बैंक (एडीबी) सँग सोधभर्ना माग गर्न कठिनाइ भएको कृषि मन्त्रालयले जनाएको छ । ३५ जिल्लामा लागू भएको यो आयोजनाको अनुमानित लागत चार अर्ब ३८ करोड रुपैयाँ (३८.६ मिलियन) रहेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार २६ वटै स्थानीय तहलाई खर्च विवरण पठाउन निर्देशन दिएको छ ।