सर्लाहीबाट घुस रकम सहित सई र जवान पक्राउ

209

त्रिभुवननगर – सर्लाहीको दक्षिणी भेगमा पर्ने सीमावर्ती क्षेत्रको सिमा प्रहरी चौकी त्रिभुवननगरमा कार्यरत दुईजना सुरक्षाकर्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित पक्राउ गरेको छ ।

त्रिभुवननगर चौकीका प्रमुख प्रहरी नायव निरीक्षक (सई) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । मंगलबार दिउँसो त्रिभुवननगर पुगेको अख्तियारको टोलीले ५० हजार रुपैयाँ घुस रकमसहित दुवैजना सुरक्षाकर्मीलाई पक्राउ गरिएको जनाएको छ ।

भारतबाट अवैध ढंगले सरसामान आयात गर्ने कार्यमा सहजता दिलाउने आश्वासन सहित सेवाग्राहीसँग घुस रकम लिईरहेको अवस्थामा दुवैजनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले दाबी गरेको छ । स्रोतका अनुसार चौकीका इन्चार्ज समेत रहेका सई सिंहले प्रहरी जवान यादवलाई प्रयोग गरी घुस रिसवत मागेको बुझिएको छ । यादव नेपाल प्रहरीको ‘घुमुवा’ अर्थात अवैध काम गर्ने ‘तस्कर’ हरुसित लाईन मिलाउने काममा बढी खटिने गरेको प्रहरी स्रोतले जनायो ।

अख्तियारको टोलीले दुवै जनालाई थप अनुसन्धानका लागि मंगलवार साँझ नै बर्दिवास कार्यालय लगेको छ । स्थानीयका अनुसार उनीहरुलाई बर्दिवासतर्फ लाने क्रममा त्रिभुवननगरका गाउँलेले अवरोध गरेका थिए । त्यसक्रममा अख्तियारको टोली र गाउँलेबीच हात हालाहाल समेत भएको बताईएको छ ।

केही दिनअघि पनि जिल्ला प्रहरी कार्यालय मलंगवामा कार्यरत एक प्रहरी निरीक्षक (ईन्स्पेक्टर) लाई जनकपुरमा घुस रकम लिईरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको थियो ।