हरिवनमा निजी विद्यालयको फूटबल भिडन्त

538

-आज डनिङ फ्यूचर र ज्ञानज्योति विजयी

हरिवन – सर्लाहीको हरिवनमा सोमवारबाट दोस्रो अन्तर निजी विद्यालय रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्याब्सन हरिवन नगर कमिटी अर्थात एरिया बी को आयोजनामा सुखेपोखरीस्थित चतुर्भूजेश्वर माविको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता अन्तर्गत सोमवार बिहान सम्पन्न पहिलो खेलमा डनिङ फ्यूचर एकेडेमीले अर्किड इन्टरनेशनल आवासिय विद्यालयलाई १–० ले हरायो । उक्त खेलमा विजयी गोल गरेका डनिङका जर्सी नं. ८ का सागर ब्लोन म्यान अफ दि म्याच घोषित भए ।

त्यस्तै दिउँसो भएको दोस्रो खेलमा ज्ञानज्योति आवासिय माविले बाल निकेतन आवासिय विद्यालय घुर्कौलीलाई ६–० गोल अन्तरले पराजित ग¥यो । खेलमा विजयी टिमको तर्फबाट ह्याट्रीक गोल गरेका ज्ञानज्योतिका पदम थिङ म्यान अफ दि म्याच घोषित भए ।

यसअघि सोमबार बिहान एक समारोहबीच प्रतियोगिताको उद्घाटन गरिएको थियो । प्याब्सन एरिया बीका अध्यक्ष बेदनिधी (सन्तोष) उपे्रतीको अध्यक्षता एवं हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो । मेयर प्रसाईंले मुख्य रेफ्रि रञ्जन सिंदालीलाई फुटबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

नवराज सुवेदीले सञ्चालन गरेको उद्घाटन समारोहमा मनोज थापाले स्वागत गरेका थिए भने प्याब्सनका केन्द्रीय सदस्य मदन आचार्य, हरिवन नगरपालिकाका शिक्षा उपसचिव नवराज निरौला, सशस्त्र प्रहरीका डिएसपी सुशिल पराजुली, हरिवन–९ का वडा अध्यक्ष सिताराम पोखरेल, नेकपाका नेता चूडामणि वाग्ले लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा हरिवन नगरपालिका वडा नं. ११ का वडाध्यक्ष शेष मेहबुब रेजा, ८ का वडाध्यक्ष यज्ञविनोद ढुंगेल, प्याब्सन सर्लाहीका नेता गोपाल पंजियार, ज्ञानप्रसाद पोखरेल लगायतको आतिथ्यता रहेको थियो ।

आगामी पुस ६ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले रनिङ शिल्ड तथा मेडल प्राप्त गर्ने छ । प्रतियोगितामा मावि स्तरको प्रतिष्पर्धामा १० तथा निमावि स्तरको प्रतिष्पर्धामा १३ वटा निजी विद्यालयले भाग लिएका छन् ।

मुख्य रेफ्री रञ्जन सिंदालीलाई फुटबल प्रदान गरेर प्रतियोगिताको उद्घाटन गर्दै हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं तथा उपस्थित अतिथिहरु । (तस्बिर : अच्युतकुमार सापकोटा/उज्यालो अभियान)