राजनैतिक भागबन्डाको शिकारमा विद्यालय

189

लालबन्दी– राजनीतिक भागबण्डा नमिल्दा सर्लाहीको लालबन्दी नगरपालिका–३ जब्दीमा रहेको मनपुरण जनता आधारभूत विद्यालयमा व्यवस्थापन समिति चयन गर्न गाह्रो परेको छ ।

विद्यालयको नेतृत्वमा दलहरुले आफ्नै मान्छे ल्याउन खोजेपछि सहमति जुट्न नसकेको हो । चार पटक अभिभावक भेला बस्दा समेत व्यवस्थापन समिति चयन हुन सकेको छैन् । पछिल्लो पटक शनिवार भएको अभिभावक भेलामा ठूलै विवाद भएको थियो । वडाध्यक्षले आफूहरुको कुरा नै नसुनी एकलौटी ढङ्गले व्यवस्थापन समिति चयन गर्न खोजेको भन्दै एक पक्षले आइतवार नगरपालिका कार्यालयमा आएर ध्यानाकर्षण गराएको छ । नाराबाजी गर्दै नगरपालिका आएको टोलीलाई नगरप्रमुख मानबहादुर खड्काले अभिभावकको चाहना अनुसार नै एक हप्ताभित्र समस्याको निकास निकाल्ने आश्वासन दिएर पठाएका छन् ।

लालबन्दी नगरपालिका–३ का वडाध्यक्ष रामनारायण चौधरीले सबै पक्षलाई समेटेरै व्यवस्थापन समिति गठन गर्ने प्रयास गरेको दावी गरेका छन् । उनले जब्दी, भैरवपुर र शिश्वा गाउँको प्रतिनिधित्व हुने गरी व्यवस्थापन समिति गठन गर्न खोज्दा विरोध जनाइएको बताए । राजनीतिक हानाथापले गाउँको सरकारी विद्यालय दयनिय अवस्थामा पुगेको भन्दै जब्दीका वाषिन्दाले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय सर्लाहीका अरु सरकारी विद्यालयलाई पनि दलहरुले राजनीतिक अखण्डा बनाउँदा शिक्षाको गुणस्तर झन् खस्कदै गएको छ ।