दुर्घटनामा एक महिलाको मृत्यु, बालक सहित पाँचजना घाईते

210
सांकेतिक तस्बिर ।

मलंगवा – सर्लाहीमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने एक बालक सहित पाँचजना घाईते भएका छन् ।

मलंगवा नगरपालिका–४, विश्वकर्मा चोकस्थित भित्री सडकमा सोमबार साँझ ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । ज. १ त २६६६ नम्वरको ट्याक्टरले बीआर ३० आर ४९४१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार चक्रघट्टा गाउँपालिका–९, का जबाहार रायकी श्रीमती २७ वर्षीया संगिता देवीको घटनास्थलमै मृत्यु भएको हो ।

सोमबार साँझ नै हरिपुर नगरपालिका–३, स्थित नवलपुर–मलंगवा सडकको ढंग्रा पुलमा भएको सवारी दुर्घटनामा चार जना घाईते भएका छन् । ना १ त ३४१९ नम्वरको ट्याक्टरलाई ना १ त ४९९९ नम्वरको ट्याक्टरले पछाडिबाट ठक्कर दिएर बीआर ३० आर ७६७५ नम्वरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो । दुर्घटनामा कविलासी नगरपालिका–१०, हेमपुरका २२ वर्षीय राजेश साह, सोही ठाउँका १३ वर्षीय रोहित यादव, बागमती नगरपालिका–१०, सोल्टीका ३६ वर्षीय नाजिर मन्सुर र बरहथवा नगरपालिका–३, हजरियाका २० वर्षीय काजिर मन्सुर घाईते भएका छन् । घाईतेमध्ये राजेश र रोहितको धनुषास्थित लालगढमा र मन्सुर द्धोयको हरिवनमा उपचार भइरहेको छ ।

यसैबीच हरिपुर नगरपालिका–३, फरहदवास्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट एक बालक घाईते भएका छन् । ना. ४५ प ८३५५ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा घाईते सोही ठाउँका अख्तर सेखका ४ वर्षीय छोरा हैसर सेख घाइते भएका हुन् उनको धनुषाको लालगढमा उपचार भइरहेको छ ।