जन्मदिनको अवसरमा महतद्वारा वृद्धवृद्धालाई मिष्ठान्न

221

जुटपानी – आफ्नो जन्मदिनको अवसरमा एक युवाले लालबन्दी नगरपालिका–२, जुटपानी स्थित पद्म भुवनेश्वरी वृद्ध सेवाआश्रममा आश्रीत वृद्धवृद्धालाई मिष्ठान भोजन गराएका छन् ।

हरिवन नगरपालिका–८, चापिनी घर भई हाल काठमाडौंको नयाँ बानेश्वरमा ‘फर्नीचर/फर्नीसिङ’ व्यवसाय गरिरहेका विक्रम महतले वृद्धवृद्धालाई मिष्ठान भोजन गराएका हुन् । सोमबार बिहान महतका बुबा गोपाल एवं भाई विवेकले वृद्धाश्रम पुगेर आश्रमकी अध्यक्ष भवानी कोइराला, संरक्षक बाशुदेव शरण कोइराला लगायतलाई मिष्ठान भोजनका लागि पाँच हजार रुपैंया प्रदान गरेका छन् । आश्रमकी अध्यक्ष कोइरालाले यसरी नै युवाहरुले जन्मदिन लगायत अनेक अवसरमा वृद्धवृद्धालाई मिष्ठान भोजन गराउने कार्यले आश्रमलाई निकै टेवा पुगेको भन्दै आगामी दिनमा पनि यस्तो सहयोगको अपेक्षा गरिन् ।

यसैबीच मलंगवा नगरपालिका–२ घर भई हाल ललितपुर उपमहानगरपालिका–५ थशिखेल बस्दै आएका ध्रुव जोशी र बिणा जोशी दम्पतिले समेत स्वर्गीय बुवा तिर्थलाल जोशीको पुण्य तिथिमा मिष्ठान्न भोजन गराउन पाँचहजार रुपैंया प्रदान गरेको आश्रमकी अध्यक्ष कोईरालाले जानकारी दिईन् । मंसिर २४ गते पर्ने पुण्यतिथिका अवसरमा जोशी दम्पतिले उक्त सहयोग गरेका हुन् । अध्यक्ष कोईरालाका अनुसार जोशी दम्पति आश्रममा आफ्ना दिवंगत पुर्खाको पुण्यतिथिका अवसरमा मिष्ठान भोजन गराउन सूरु गराउने दम्पति हुन् । उनीहरुले सूरु गरेपछि अन्य सर्वसाधारणले समेत यस्तो तिथिमा आश्रममा सहयोग गर्न थालेको कोइरालाले जानकारी दिईन् ।