हरिपूर्वाका सबै कर्मचारी आन्दोलनमा, सेवाग्राही मर्कामा

154
फोटो क्याप्सन : हरिपूर्वास्थित नगरपालिका कार्यालय । (तस्बिर : उज्यालो अभियान)

हरिपूर्वा – सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिका भित्रका सबै कार्यालय आइतवारबाट अनिश्चितकालका लागि बन्द गरिएको छ ।

हरिपूर्वा नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सकलदेव रायमाथि हातपात गर्ने विद्यार्थीलाई कारवाही गर्न माग गर्दै नगरभित्रको विभिन्न कार्यालयका कर्मचारी काम ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् । शिक्षक अभावमा महिनौंदेखि अध्ययन गर्न नपाएको भन्दै हरिपूर्वास्थित केश्वर गरिव जनता माध्यमिक विद्यालयमा सिभिल इन्जिनियरिङ पढ्दै गरेका विद्यार्थीले सुक्रवार अपरान्ह नगरपालिका कार्यालयमा तोडफोड गरेका थिए । त्यसक्रममा विद्यार्थी र प्रमुख प्रशासकीय अधिकृत रायबीच हात हालाहाल समेत भएको थियो । सो घटनामा संलग्न दोषी विद्यार्थीलाई कारवाही गर्न माग गर्दै कर्मचारीले आन्दोलन सुरु गरेका हुन् ।

कर्मचारीको आन्दोलनले नगरपालिका, वडा कार्यालय लगायत सबै निकाय बन्द भएपछि स्थानीय वाषिन्दा समस्यामा परेका छन् । विद्यार्थीले भने हरिपूर्वा नगरपालिकाकै धनकौल घर भएका प्रमुख प्रशासकिय अधिकृत राय दादागिरी शैलीमा प्रस्तुत भएको आरोप लगाएका छन् । जनप्रतिनिधि बीचकै किचलोले थिलथिलो भएको हरिपूर्वा नगरपालिकामा एकपछि अर्को विवाद देखिँदै आएको छ । हरिपूर्वा माविमा यसै वर्षदेखि सुरु गरिएको सिभिल इन्जिनियरिङ पढाउन तीन जना शिक्षक नियुक्त गरिएको भएपनि उनीहरुको नियुक्तिका सम्वन्धमा विवाद हुँदै आएको छ । हरिपूर्वा नगरपालिकाका प्रमुख शियाराम रायले स्थानीय प्रशासनसँग समन्वय गरी अहिले देखिएको विवाद समाधान गर्ने प्रयास गरिरहेको बताए ।

समस्या समाधान गरेर कार्यालय सञ्चालन गर्न र विद्यालयमा सहज रुपमा पठनपाठन सञ्चालन गर्न प्रशासनसँग समन्वय गरिरहेको छु, नगरप्रमुख रायले भने, राजनीतिक विवादले केही समस्या भने परेकै हो । हरिपूर्वाको विवादका सम्वन्धमा आइतवार सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा छलफल समेत भएको छ । छलफलमा आन्दोलित कर्मचारीलाई सुरक्षा प्रवन्धक मिलाईने भएकाले कार्यालय खोलेर भोली (सोमवार) देखि नै काममा फर्किन् आग्रह गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी समेत रहनु भएका जिल्ला प्रशासन कार्यालय मलंगवाका प्रशासकीय अधिकृत हरिकिशोर चन्द्रबंशीले जानकारी दिए ।

उनँले दोषी पहिचान गरेर जाहेरी दिए कारवाही गरिने समेत बताए । मेयर साब, वडाध्यक्ष ज्यू, हामी सुरक्षा अधिकारी लगायतबीच छलफल भएको छ, हामीले कर्मचारीलाई सुरक्षाका प्रवन्धक हुन्छ, काममा फर्र्किनुस् भनेका छौँ, उनले भने, सरकारी कर्मचारीले आन्दोलन गरेर सेवा ठप्प पार्न पाइदैन् भन्ने विषयमा समेत कर्मचारी साथीलाई समेत सचेत गराएका छौँ । चन्द्रबंशीले सोमवारबाट कार्यालय सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् ।