हरिपूर्वा माविको विवाद मिलाउन पहल भएन

180
विद्यार्थीले शुक्रवार तोडफोड गरेर हरिपूर्वा नगरपालिका कार्यालय बाहिर फालेका सामान । (तस्बिर : उज्यालो अभियान)

हरिपूर्वा – जनप्रतिनिधिबीचको विवादले आफै थलिएको सर्लाहीको हरिपूर्वा नगरपालिका पुनः अर्को विवादमा फसेको छ ।

जिल्लाको दक्षिण–पूर्वी भेगमा पर्ने सो नगरपालिकामा शुक्रवार अपरान्ह कार्यालय अगाडि नै रहेको केश्वर गरिव जनता माध्यमिक विद्यालयका विद्यार्थीले तोडफोड गरेका थिए । ८÷९ महिनादेखि सिभिल इन्जिनियरिङको पढाई नभएपछि सिभिलका विद्यार्थी रुष्ट छन् । तोडफोडपछि नगरपालिका कार्यालय सञ्चालनमै समस्या उत्पन्न भएको स्थानीय वासिन्दाले बताएका छन् । विद्यार्थीले कम्प्यूटर र अन्य विद्युतीय उपकरण तथा अरु सरसामानमा क्षति पुर्याएका छन् ।

निर्वाचित भएर आएका जनप्रतिनिधिबीचको किचलोले माथि उठ्न नसकेको नगरपालिका फेरी अर्को लफडामा फसेको हो । विद्यालयको विवाद पुनः बल्झिएपछि तत्काल सहज रुपमा नगरपालिका सञ्चालन हुने अवस्था नरहेको एक स्थानीय वासिन्दाले बताए । विवाद समाधानका लागि कुनै पनि पक्षबाट पहल भएको छैन् । भविष्यका कर्णधार बालबालिका अध्ययन गर्ने विद्यालय अशान्त बन्दै गएकोमा बुजु्रक बर्ग र अभिभावकले चिन्ता व्यक्त गर्दै आएका छन् । यसअघि केही साता पहिले प्रधानाध्यापकको विवादले हरिपूर्वा माविमा धेरै दिनसम्म परीक्षा नै रोकिएको थियो ।