ओलले मुल्य पाएन : किसान चिन्तित

163
किसानले खेतबाट खनेर विक्रीका लागि तयार पारेको ओल । (तस्बिर : घनश्याम बलम्पाकी/उज्यालो अभियान)

घनश्याम बलम्पाकी/बरहथवा – अचार र तरकारीको रुपमा खाइने कन्दमुल प्रजातिको फल ओलको उचित बजार मुल्य नपाएपछि सर्लाहीका किसान चिन्तित भएका छन् ।

गतबर्ष प्रति किलो ४५ देखि ५० रुपैयाँ सम्म बिक्रि भएको ओलले यसबर्ष भने प्रति किलो २० रुपैयाँ पनि नपाएको किसानहरुले गुनासो गरेका छन् । विशेष गरि जिल्लाको बरहथवा, शंकरपुर, हजरिया, राजघाट लगायत क्षेत्रका किसानले ब्यवसायिक रुपमा ओलको खेती गर्दै आइरहेका छन् । गत बर्षको तुलनामा यस वर्ष ओलको मुल्य आधा भन्दा पनि कम भएपछि किसानहरु मारमा परेका छन् ।

फागुन चैतमा रोपिने ओल भदौ देखि खनेर विक्री वितरण गर्नका लागि तयारी हुन्छ । तर यस बर्ष ओलको उचित मुल्य नपाए पछि किसानले मंसिर आधा बित्दा समेत खनेका छैनन् । कतिपय किसानले खनेर तयार पारिएको ओल पनि बढि मुल्य पाउने आशामा भण्डारण गरेर राखेका छन् ।
५ बर्षदेखि ओलको ब्यवसायिक खेती गर्दै आएका बरहथवा नगरपालिका–५ हाथिडण्डाका बेलवाले मोक्तानले यसवर्ष मुल्यमा निकै कमि आएको गुनासो गरे । लामाले गत बर्ष ५ कठ्ठामा ३० क्विन्टल ओल उत्पादन गर्दा १ लाख पैतिस हजारमा बिक्री गरेका थिए । तर यसपटक भने भाउ नभएकोले ओल नखनी उचित मुल्यको पर्खाइमा छन् लामा । ‘जहिले राम्रो भाउ आउँछ अनि खनांैला’, निरास हुँदै लामाले उज्यालो अभियानसँग भने, ‘यति थोरै मुल्यमा बेच्दा त लागतमा घाटै लाग्छ ।’

त्यस्तै बागमति नगरपालिका–५ का हरिया महतोले अर्को बाली लगाउन ओल खनिसकेका छन् । उनले खनि सकेको ओलको उचित मुल्य नपाएपछि भण्डारण गरेका छन् । समयमा मलखाद र मेहनत गरे ओल प्रति कठ्ठा ८ देखि १० क्विन्टल सम्म उत्पादन गर्न सकिन्छ । गतवर्ष ४ कठ्ठामा २८ क्विन्टल ओल उत्पादन भएको महतोले बताए । ‘पोहोर १ लाख ४० हजारमा घरबाटै ब्यापारीलाई ओल बेचेको थिएँ’, महतोले भने, ‘यसवर्ष कमै ब्यापारी आएका छन् र आईहाले पनि किलोको १८ रुपैयाँ भन्दा दिन सक्दैनौं भन्छन् ।’

अर्का किसान ध्रुव महतोले १० कठ्ठामा ओल खेती गर्छन् । आलु रोप्नका लागि उनी अहिले धमाधम ओल खनिरहेका छन् । ‘बिगतका बर्षहरुमा ओल खेतिबाट राम्रै आम्दानी लिएको भएपनि यसपटक भने नराम्ररी डुबिनी भईयो, यही भाउले त खर्च पनि नउठ्ने भयो’, महतोको दुःखेसो थियो, ‘अब फागुन सम्म भण्डारण गरेर राख्छु, अनि बेचांैला ।’

बिशेष गरि ओल जाडो महिनामा भन्दा गर्मी महिनामा बढी खाने गरिन्छ । फागुन महिना लागेसँगै भाउ बढ्ने आशामा किसानले खनेको ओल भण्डारण गरेर राखेका छन् । जमिन मुनि फल्ने कन्दमुल फल मध्ये ओल बढि फल्ने फल ओल भएको किसानहरु बताउँछन् । सर्लाहीमा सय हेक्टर क्षेत्रफल हाराहारीमा ओल खेती हुने गरेको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ ।

ओलको बोट ।