हरिपूर्वा नगरपालिकामा विद्यार्थीद्धारा तोडफोड

121
फोटो क्याप्सन : विद्यार्थीले तोडफोडपछि छरपस्ट भएको कम्प्यूटर लगायत अन्य विद्युतीय उपकरण । (तस्बिर : उज्यालो अभियान)

हरिपूर्वा-लामो समयदेखि राजनीतिक किचलोले थिलथिलो भएको सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिका कार्यालयमा सुक्रवार विद्यार्थीले तोडफोड गरेका छन् ।

हरिपूर्वा बजारस्थित नगरपालिका अगाडि नै रहेको केश्वर गरिव जनता माध्यमिक विद्यालय हरिपूर्वाका विद्यार्थीले सुक्रवार अपरान्ह नगरपालिका कार्यालयमा प्रवेश गरी तोडफोड गरेका हुन् । सो विद्यालयमा लामो समयदेखि सिभिल इन्जिनियरिङ पठनपाठनका लागि नियुक्त गरिएका दुई जना ओभरसियर र एक जना इन्जिनियरको विषयमा विवाद चल्दै आएको छ । विद्यालयले मनोमानी किसिमले शिक्षक नियुक्त गरेको आरोप लगाउँदै अख्तियारमा मुद्दा परेपछि तीनै जना शिक्षकले अध्यापन गराउन पाएका छैनन् । शिक्षक अभावमा ८/९ महिनासम्म पढाई नभएको सम्वन्धमा जानकारी गराउन नगरपालिका कार्यालय पुगेका विद्यार्थी तोडफोडमा उत्रिएका हुन् ।

समस्या सुनाउन सामूहिक रुपमा नगरपालिका कार्यालय पुगेका विद्यार्थीलाई प्रमुख प्रशासकीय अधिकृत सकलदेव रायले यसबारेमा छलफल गर्न प्रधानाध्यापकलाई बोलाएर ल्याउन आग्रह गरे । त्यसपछि प्रधानाध्यापक रामपृत महतो नगरपालिका कार्यालय पुगेका थिए । कुराकानीकै क्रममा कार्यकारी अधिकृत रायले प्रधानाध्यापक महतोलाई हप्काएर बाहिर निकालेपछि विद्यार्थी आक्रोसित हुँदै तोडफोडमा उत्रिएका थिए । त्यसक्रममा विद्यार्थी र प्रमुख प्रशासकिय अधिकृत रायबीच हात हालाहाल भएको प्रत्यक्षदर्शीले बताएका छन् । तत्कालै प्रहरी घटनास्थलमा पुगेर तनाव साम्य पारेको थियो ।

प्रधानाध्यापक रामपृत महतोले आफू नगरपालिका कार्यालय जाँदा प्रमुख प्रशासकिय अधिकृत तनावमा रहेको देखेपछि खासै कुरा नभएको बताए । अधिकृत रायले आफूले नै विद्यार्थीलाई उचालेर नगरपालिका कार्यालय पठाएको जस्तो बुझेको भन्दै प्रधानाध्यापक महतोले गुनासो गरेका छन् । प्रअ महतोले चार दिनअघि मात्रै सो विद्यालयमा कार्यभार सम्हालेका हुन् । यता उज्यालो अभियान दैनिकसँग कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत सकलदेव रायले आफूले प्रधानाध्यापकमाथि नराम्रो किसिमको कुनै व्यवहार नगरेको दावी गरका छन् । उनले नगरपालिका कार्यालय रहेको दोस्रा तलाबाट विद्यार्थीलाई तल झर्न आग्रह मात्रै गरेको बताए ।

हरिपूर्वा नगरपालिकाकै धनकौल घर भएका प्रमुख प्रशासकीय अधिकृत रायले प्रधानाध्यापकलाई तत्काल करारमा अर्को शिक्षक राखेर पठनपाठनलाई निरन्तरता दिन सुझाव दिइरहेको बताए । पछिल्लो समय केश्वर गरिव जनता माध्यमिक विद्यालयमा राजनीतिक किचलो हुँदा पठनपाठनमा असर परिरहेको छ । केही समयअघि प्रधानाध्यापकको सरुवाको विषयमा विवाद हुँदा सो विद्यालयमा धेरै दिनसम्म पढाई नै ठप्प भएको थियो । विद्यालयमा बढ्दो विवादका कारण स्थानीय शिक्षापे्रमी र अभिभावकले चिन्ता व्यक्त गर्दै आएका छन् । विवादकै कारण विद्यालय दयनिय अवस्थामा पुगेको चिन्ता व्यक्त गर्न थालिएको छ ।