सर्लाहीको वयलबासमा प्रभुको शाखा

957

घनश्याम बलम्पाकी, वयलबास – सर्लाहीको वयलबास बजारमा प्रभु बैंकको शाखा उद्घाटन गरिएको छ ।

इश्वरपुर नगरपालिका–६ वयलबास बजारमा बिहिवार बिहान एक समारोहबीच ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटाले रिवन काटेर बैंकको शाखा कार्यालय सञ्चालनको उद्घाटन गरेका हुन् । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि देवकोटाले प्रभु बैंकको शाखा स्थापनाले नगरपालिकाको आर्थिक उन्नतीमा टेवा पुग्ने विश्वास व्यक्त गरे । क वर्गका ठूला खाले वितिय संस्थाहरु गाउँ गाउँमा खुल्दै जाँदा नेपाल सरकारले अघि सारेको समृृद्द नेपाल, सुखी नेपालीको नारालाई सार्थक तुल्याउन मद्धत पुग्ने समेत उनको धारणा थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता शम्भुलाल श्रेष्ठले प्रभु बैंक जस्तो ठूलो वितिय संस्थाको शाखा स्थापनाले ईश्वरपुर नगरपालिकाबासीलाई ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । स्थानीय सर्वसाधारण एवं उद्योगी व्यापारीहरुलाई बचत तथा विभिन्न खाले कर्जा प्राप्ती लगायत सेवा सुविधा सहज रुपमा उपलब्ध गराउन समेत पूर्व मन्त्री श्रेष्ठले बैंक व्यवस्थापनलाई आग्रह गरे ।

उद्योग वणिज्य संघ ईश्वरपुरका अध्यक्ष विष्णुहरि मैनालीले प्रभु बैंक जस्तो ठूलो वितिय संस्थाको शाखा स्थापनाले आफूहरु जस्ता व्यवसायीलाई बचत तथा ऋण सेवामा निकै सहज हुने विश्वास व्यक्त गरे । जिल्लाकै ठूलो व्यापारिक केन्द्र ईश्वरपुरमा ठूला बैंकहरुको शाखा स्थापनाले व्यवसायीहरु हौसिएको समेत उनको धारणा थियो ।

कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति प्रशान्त आचार्य लगायत विभिन्न राजनैतिक दलका नेता, उद्योगी–व्यापारी, नागरिक समाजका अगुवा लगायतको उपस्थिती रहेको थियो । बैंकका प्रदेश २ का प्रमुख मन्त्रिलाल गुप्ताले ठुला भन्दा साना ब्यवसायमा लगानी बढाउने र कृषि क्षेत्रमा बढी केन्द्रित रहने जानकारी दिए । वयलबास बजारमा पहिलो चोटी ‘लकर’ सुविधा सहितको सेवा सूरु गरिएको बैंकले दाबी गरेको छ । शाखा सञ्चालनसँगै एटिएम सेवा समेत सूरु भईसकेको बैंकले जनाएको छ ।

बैंकका शाखा प्रबन्धक उपेन्द्र साहका अनुसार प्रभुको यो देशभरमा १९९ औं शाखा हो भने प्रदेश नं. २ मा १९ औं शाखा हो । प्रभुको सर्लाहीको हरिवनमा यसअघि नै शाखा सञ्चालनमा आइसकेको छ भने सदरमुकाम मलंगवा र बरहथवामा पूर्वाधार तयार भइसकेकोले निकट भविष्यमै शाखा सञ्चालनमा आउने बताईएको छ ।