ईन्दुशंकरले डोंगापूजा गर्दै

200
ईन्दुशंकर चिनी उद्योग (फाईल तस्बिर)

हरिवन–सर्लाहीको हरिवन स्थित ईन्दुशंकर चिनी उद्योगले आगामी सोमबार डोंगा पूजा गर्ने भएको छ ।

उखु क्रसिङ्ग गर्न उद्योगको तर्फबाट सम्पूर्ण तयारी भएपछि डोंगा पूजा गर्ने गरिन्छ । चालु सिजनका लागि उखु क्रसिङ्ग गर्न उद्योगले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

ईन्दुशंकरले केही दिनअघि नै बोइलर अर्थात आगोको भट्टा पूजा समेत गरिसकेको छ । डोंगा पूजा पश्चात सरकार, उखु किसान र उद्योगपतिबीचको सहमति अनुसार उद्योग सञ्चालन गरिने ईन्दुशंकर चिनी उद्योगले जनाएको छ ।

इन्दुशंकरले गतबर्ष ३५ लाख १३ हजार क्विन्टल उखु क्रसिङ्ग गरेको थियो । जिल्लाको दक्षिण–पश्चिम क्षेत्र स्थित धनकौलको अन्नपूर्ण चिनी उद्योग र दक्षिणी क्षेत्रको बगदहस्थित महालक्ष्मी सुगर मिलले भने हालसम्म डोंगा पूजाको मिति तय गरिसकेका छैनन् ।

ईन्दुशंकरले आफूले दिनुपर्ने सम्पूर्ण भुक्तानी सकिसकेको जनाएको छ भने अन्नपूर्ण र महालक्ष्मीले भने किसानको विगत वर्षकै करोडौं भुक्तानी दिन बाँकी रहेको स्थानीयले बताएका छन् । चिनी उद्योग ले वर्षौंसम्म भुक्तानी नदिने तथा सरकारले समेत अनुदान रकम दिन झुलाउने गरेपछि पछिल्लो समय दक्षिणी क्षेत्रका किसान स्थानीय क्रसर उद्योगमा निकै सस्तोमै उखु बेचिरहेका छन् ।

सर्लाही मुलुकमै सबैभन्दा बढी उखु खेती हुने जिल्ला हो । यहाँ २६ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा उखु खेती भइरहेको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ ।