सवारी दुर्घटनामा तीन घाईते

101
सांकेतिक तस्बिर ।

सर्लाही-सर्लाहीका बेग्लाबेग्लै स्थानमा सोमवार साँझ भएका सवारी दुर्घटनामा परी तीन जना घाईते भएका छन् ।

जिल्लाको ईश्वरपुर नगरपालिका–७, पोखरी टोलमा हरिपुरबाट बयलवासतर्फ गइरहेको ना २ ह २९५९ नम्वरको टेम्पुले ठक्कर दिँदा दुई जना पैदल यात्री घाईते भएका छन् । दुर्घटनामा ईश्वरपुर नगरपालिका–७, बस्ने ३५ वर्षीय शिवशंकर साह र ईश्वरपुर नगरपालिका–९, बस्ने ४२ वर्षीय रामनाथ महतो घाईते भएका हुन् । उनीहरु दुवैको बयलवासस्थित एक स्वास्थ्य संस्थामा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय केशरगंजले जनाएको छ ।

यसैबीच चन्द्रनगर गाउँपालिका–२, बबरगञ्जमा मोहनपुरबाट बबरगञ्जतर्फ आइरहेको ना ३१ प ८४५५ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा बाटोमा खेलिरहेकी बालिका घाईते भएकी छिन् । दुर्घटनामा सोही ठाउँका किशोरी साहकी ७ वर्षीया छोरी अनुराधा साह घाईते भएकी हुन् । घाईते बालिकालाई बयलवासमा सामान्य उपचार गरी थप उपचारका लागि राती काठमाण्डौं रेफर गरिएको प्रहरी चौकी मोहनपुरले जनाएको छ ।