धर्मशाला निर्माणार्थ करोडौंको जग्गादान

रामनगर-सर्लाहीको रामनगर गाउँपालिका–३ का एक समाजसेवीले धर्मशाला निर्माणका लागि करोडौं पर्ने जग्गा दान गरेका छन् ।

पूर्व गाविस अध्यक्ष समेत रहेका समाजसेवी रामअयोध्या प्रसाद चौधरीले गाउँको गढिमाई मन्दिरमा धर्मशाला निर्माणका लागि आवश्यक पर्ने जग्गा दान गर्ने उद्घोष गरेका हुन् । चौधरीले प्रदान गरेको जग्गामै हाल गढिमाई मन्दिर निर्माण भएको छ । मन्दिरमा आउने भक्तजन तथा पर्यटकलाई बास बस्न सहज होस् भन्ने उद्देश्यले उहाँले धर्मशाला निर्माण गर्न थप जग्गा प्रदान गर्ने घोषणा गर्नुभएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

समाजसेवी चौधरीले आज बिहान गढिमाई मन्दिरमा लागिरहेको मेलामा उपस्थित भई धर्मशाला निर्माणका लागि आवश्यक जग्गा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सर्लाहीमा अहिले रामनगर, कविलासी, हरिपुर, चन्द्रनगर, गोडैतालगायतका स्थानमा भव्य रुपमा गढिमाई मेला आयोजना भइरहेको छ । मेलामा मंगलवारबाट बोका तथा राँगाको बली चढाउन सुरु भएको छ ।