कार्यालय परिसरमै बैंक, कारोवार २५ किलोमिटर टाढा सदरमुकाममा

164
फोटो क्याप्सन : बलरास्थित नगरपालिका कार्यालयकै परिसरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखा । (तस्बिर : उज्यालो अभियान)

सर्लाही–भारतसँग सीमा जोडिएको सर्लाहीको बलरा नगरपालिकाको कार्यालयकै अगाडि राष्ट्रिय वाणिज्य बैंक रहेको छ । तर नगरपालिका आफैले कार्यालयकै परिसरमा रहेको बैंकबाट कारोवार नगरी २५ किलोमिटर टाढा सदरमुकाम मलंगवामा रहेको नेपाल बैंक लिमिटेडबाट कारोवार गरिरहेको छ । प्रायः भारतीय रुपियाँको धेरै प्रयोग हुने बलरा नगरपालिकामा खुलेको वाणिज्य बैंकले उल्लेख्य कारोवार गर्न सकेको छैन् । कारोवार खासै नहुँदा बैंक दयनीय अवस्थामा सञ्चालन भइरहेको छ ।

सुरक्षाकर्मीले तलब सुविधा र किसानले उखुको भुक्तानि लिने बाहेक बैंकमा अरु कारोवार खासै नहुने बैङ्कका निमित्त शाखा प्रवन्धक पवन कुशवाहाले जानकारी दिए । कर्मचारीले तलब र किसानले उखुको भुक्तानि लिन आउँदा बैंकका कर्मचारीलाई अन्य ग्राहकको काम खासै हुँदैन् । तलब निकाल्ने र किसानलाई भुक्तानि दिने बेला मात्रै बैंकमा सेवाग्राहीको चाप देखिने गरेको छ ।

शाखा प्रवन्धक कुशवाहाले नगरपालिका कार्यालयलाई यहीँबाट कारोवार गर्न पटक–पटक आग्रह गर्दा पनि वास्ता नगरेको गुनासो गरे । सो बैंकमा हाल दैनिक ४०÷४५ जना ग्राहक सेवा लिन आउने गरेका छन् । दुई वर्षअघि स्थापना भएको बैंकमा हालसम्म दुई हजार दुई सय जनाले खाता खोलेका प्रवन्धक कुशवाहाले बताए । भारतीय रुपियाँ धेरै चल्ने भएकाले स्थानीय वासिन्दा गाउँको बैंकमा खाता खोलेर कारोवार गर्न खासै उत्साहित देखिदैनन् ।

बलरा नगरपालिकाका मेयर अभयकुमार सिंहले नगरपालिकामा रहेको बैंक भन्दा सदरमुकाम मलंगवाको बैंकबाट कारोवार गर्न सहज भइरहेको बताए । बलरास्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाले चेक भजाउन समय लगाउने र खासै सेवा सुविधा नभएकाले सामाजिक सुरक्षा भत्ता लिने वृद्धबृद्धालगायतको सहजताका लागि सदरमुकामको बैंकबाट नगरपालिकाको खाता सञ्चालन गरिएको उनले बताए ।

बलराका केही जनप्रतिनिधिले भने गाउँकै बैंकबाट कारोवार गर्नुपर्ने माग गर्दै आएका छन् । टाढाको बैंकबाट कारोवार गर्दा आर्थिक पारदर्शिता नभएको गुनासो पटक–पटक आइरहेको छ । राष्ट्रिय वाणिज्य बैंकको लालबन्दी, बरहथवा र बलरामा गरी जिल्लाभर तीन वटा शाखा रहेका छन् ।