सडकमै काठ सुकाउँदा दुर्घटनाको जोखिम बढ्यो

109


सर्लाही– पूर्व–पश्चिम राजमार्गलाई सदरमुकाम मलङ्गवासँग जोड्ने प्रमुख मार्ग नवलपुर–मलङ्गवा सडकमा प्लाई उद्योगले जथाभावी काठ सुकाउँदा सवारी दुर्घटनाको जोखिम बढेको छ ।

सो सडकको गम्हरियादेखि शिवसागर चोकसम्म प्लाई उद्योगले सडकमै काठ सुकाउँदा जोखिम बढेको गुनासो आउन थालेको हो । झण्डै आधा दर्जन प्लाई उद्योगले सडकको दायाँबायाँ दुवैतर्फ काठ सुकाउँदा सवारी आवागमन नै प्रभावित भइरहेको स्थानीय वाषिन्दाले बताएका छन् । गम्हरियादेखि शिवसागर चोकसम्म पैद्ल हिँड्न समेत अप्ठेरो भइरहेको मलङ्गवा नगरपालिका–१२, गम्हरियाका दिनेश रायले गुनासो गरे । सडकमा सुकाइएको काठमा चिप्लिएर मोटरसाइकल लगायतका सवारी पटक–पटक दुर्घटनामा पर्ने गरेका रायले जानकारी दिए ।

बस, ट्रक जस्ता ठूला सवारी आएको बेला सडकमा सुकाइएको काठका कारण छेउबाट हिँड्न समेत मुस्किल पर्छ, रायले भने, साइड दिँदा दिँदै साइकल र मोटरसाइकल चालक धेरै पटक चिप्लिएर लडेका छन् । पूर्व–पश्चिम राजमार्गपछि अति व्यस्त रहने नवलपुर–मलङ्गवा सडकमा काठ सुकाउन मजदुर नै खटिएका हुन्छन् । सवारी दौडी रहने सडकमा मजदुरले जोखिम मोलेर काठ सुकाइ रहेको देखिन्छ । प्रहरी र नगरपालिकाले सडकमा काठ सुकाउन पटक–पटक रोक्ने प्रयास गरे पनि सफल भएका छैनन् ।

मलङ्गवा नगरपालिकाका प्रमुख निरसल साहले उद्योगीलाई सडकमा काठ नसुकाउन धेरै पटक आग्रह गरिएको बताए । सडकमा सुकाउँदा चाडो सुक्ने भन्दै उद्योगीले सडक अतिक्रमण गर्न छाडेका छैनन्, नगरप्रमुख साहले भने, हामीले निरन्तर प्रयास गरिरहेका छौँ । पछिल्लो समय सडक कालोपत्रे भएपछि प्लाई उद्योगीलाई काठ सुकाउन अझ सहज भएको छ ।