धनकौलमा गढिमाई मेला सुरु

95

धनकौल –सर्लाहीको पश्चिम–दक्षिण भेगमा पर्ने धनकौल गाउँपालिका–७, छटौल बैरिया टोलमा सोमवारबाट गढिमाई मेला सुरु भएको छ । मेलाको सोमवार दिउँसो धनकौल गाउँपालिकाकी उपाध्यक्ष अकली सहनीले उद्घाटन गरिन् । मेला वुधवारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । पाँच–पाँच वर्षमा लाग्ने गढिमाई मेला अहिले सर्लाहीका दर्जन बढी स्थानमा लागिरहेको छ । कविलासी र हरिपुर नगरपालिकाका विभिन्न ठाउँ, गोडैता नगरपालिका, धनकौल गाउँपालिका, रामनगर गाउँपालिकासहित विभिन्न स्थानका गढिमाई मन्दिरमा मेला लागिरहेको हाम्रा संवाददाताहरुले जनाएका छन् । धेरैजसो स्थानमा लागेको मेलामा मंगलवार बली चलाउने तयारी भइरहेको छ ।

उखुको मूल्य निर्धारण नहुँदा किसान अन्यौलमा ।। चालू सिजनका लागि उखुको मूल्य निर्धारण नहुँदा सर्लाहीसहित उखु खेती हुने तराईका जिल्लाका किसान अन्यौलमा परेका छन् । उखु काट्ने समय सुरु हुन लाग्दा समेत सरकारले यस वर्षका लागि उखुको मूल्य तोक्न सकेको छैन् । अन्यौलताका बीच कतिपय किसानले भने चिनी मिलबाट बेलैमा भुक्तानि नपाउने समस्याले गर्दा सस्तो मूल्यमा सख्खर उत्पादन गर्ने क्रसर उद्योगमा उखु बेच्न थालेका छन् । अधिकांश किसान भने मूल्य कायम भएपछि चिनी उद्योगमा उखु बिक्री गर्ने सोंचमा रहेका नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए ।

मूल्य कायम भएर चिनी उद्योग सञ्चालनमा ढिलाई भए यस वर्ष पनि किसानको उखु खेतमै सुक्ने अवस्था आउन सक्ने मैनालीको भनाई छ । बर्सेनी सरकार, उद्योगी र किसानका प्रतिनिधिबीच लामो समयसम्म पटक–पटक वार्ता भएपछि मात्रै उखुको मूल्य कायम हुुँदै आएको छ । मूल्य कायम भएपछि पनि किसानले सहमति अनुसार बेलैमा भुक्तानि पाउन सकेका छैनन् । सर्लाहीको अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहले अझै पनि किसानले उखु बिक्री गरेबापत अघिल्ला वर्षको भुक्तानि दिएको छैन् । लामो समयसम्म उखु बिक्री गरेको पैसा नपाउँदा किसानमा नैराश्यता बढेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष मैनालीले बताए ।