उखुको मूल्य निर्धारण नहुँदा किसान अन्यौलमा

226

सर्लाही –चालू सिजनका लागि उखुको मूल्य निर्धारण नहुँदा सर्लाहीसहित उखु खेती हुने तराईका जिल्लाका किसान अन्यौलमा परेका छन् ।

उखु काट्ने समय सुरु हुन लाग्दा समेत सरकारले यस वर्षका लागि उखुको मूल्य तोक्न सकेको छैन् । अन्यौलताका बीच कतिपय किसानले भने चिनी मिलबाट बेलैमा भुक्तानि नपाउने समस्याले गर्दा सस्तो मूल्यमा सख्खर उत्पादन गर्ने क्रसर उद्योगमा उखु बेच्न थालेका छन् । अधिकांश किसान भने मूल्य कायम भएपछि चिनी उद्योगमा उखु बिक्री गर्ने सोंचमा रहेका नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए । मूल्य कायम भएर चिनी उद्योग सञ्चालनमा ढिलाई भए यस वर्ष पनि किसानको उखु खेतमै सुक्ने अवस्था आउन सक्ने मैनालीको भनाई छ ।

बर्सेनी सरकार, उद्योगी र किसानका प्रतिनिधिबीच लामो समयसम्म पटक–पटक वार्ता भएपछि मात्रै उखुको मूल्य कायम हुुँदै आएको छ । मूल्य कायम भएपछि पनि किसानले सहमति अनुसार बेलैमा भुक्तानि पाउन सकेका छैनन् । सर्लाहीको अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहले अझै पनि किसानले उखु बिक्री गरेबापत अघिल्ला वर्षको भुक्तानि दिएको छैन् । लामो समयसम्म उखु बिक्री गरेको पैसा नपाउँदा किसानमा नैराश्यता बढेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष मैनालीले बताए ।