हरिपूर्वामा समाजवादी पार्टीको बिजय जुलुस

83
फोटो क्याप्सन : मतदातालाई धन्यवाद ज्ञापन गर्दै हिँडेका नवनिर्वाचित वडाध्यक्ष राय र अन्य नेता कार्यकर्ता । (तस्बिर : उज्यालो अभियान)

हरिपूर्वा –वडाध्यक्षमा जीत हाँसिल गरेपछि समाजवादी पार्टीले सर्लाहीको हरिपूर्वामा आइतवार बिहान बिजय जुलुस निकालेको छ ।

त्यहाँ तीन सय ४७ मत प्राप्त गरी उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीका उम्मेद्वार श्यामबाबु राय वडाध्यक्षमा निर्वाचित भएका थिए । बिजय जुलुसमा समाजवादी पार्टीका प्रदेश सभा सांसद अशोक यादव र सञ्जय यादव, जिल्ला अध्यक्ष वीेरेन्द्र राय पनि सहभागी भएका छन् । नवनिर्वाचित वडाध्यक्ष रायले घर–घरमै पुगेर मतदाताप्रति धन्यवाद ज्ञापन गरेका छन् । जिल्लाको दक्षिण–पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिका–१, मा यसअिघ तत्कालिन एमाले अर्थात हालको नेपाल कम्युनिष्ट पार्टी बिजयी भएको थियो ।

नेकपाका वडाध्यक्ष ईसाक अंसारीको निधन भएपछि शनिवार उपनिर्वाचन भएको हो । नेकपाले दिवंगत अंसारीका छोरा दोस अन्सारीलाई वडाध्यक्षमा उठाएको थियो । तर उनी पराजित भए । अन्सारी र राजपा नेपालका उम्मेद्वार राम विश्वास रायले समान अर्थात तीन सय २८ मत प्राप्त गरे । शनिवार शान्तिपूर्ण ढंगले सम्पन्न उपनिर्वाचनमा हरिपूर्वा नगरपालिका–१, का कुल एक हजार ३५६ मतदाता मध्ये एक हजार ९३ जनाले मतदान गरेका थिए ।

आफ्ना पार्टीका उम्मेदवारलाई जिताउन पार्टीका जिल्लास्थित शिर्षस्त नेता र सांसद समेत मत माग्दै घरदैलोमा सहभागी भएका थिए ।