युवाको सराहनिय कार्य : विपन्नको घर बनाइदिँदै

352

घनश्याम बलम्पाकी, हरिवन –युवाहरुले सर्लाहीको हरिवन नगरपालिकाको मोहनपुरमा एक विपन्न परिवारलाइ नयाँ घर बनाइदिने भएका छन् ।

हरिवन नगरपालिका ३ मोहनपुर निवासी सूर्यलाल मोक्तानको परिवारलाइ धाराटोलका यूवा समाजसेवी संजिव मोक्तानको अगुवाइमा रहेको यूवा समुहले नयाँ घर बनाइदिने भएको हो । गत असारको अन्तिम सातामा आएको अबिरल बर्षाको कारण बस्नै नहुने गरी घर क्षति भएपछि मोक्तानको परिवार बिचल्लीमा परेका थिए । हाल उनीहरु त्रिपालको छानो हालेर दयनिय अवस्थामा दिन बिताइरहेका छन् । मोक्तान परिवारले बिभिन्न संघ संस्था, ब्यक्ति र नगरपालिकासँग सहयोग गर्दिन हारगुहार गरेपनि कसैबाट सहयोग नभएको बताए । हरिवन नगरपालिकाले अनुगमन समेत गरेको भएपनि हालसम्म कुनै सहयोग नपाएको मोक्तानले उज्यालो अभियानसँग दुखेसो पोखे ।

जाडो बढेसंगै उनीहरुको दिनचर्या अत्यन्तै कष्टकर भएको थाहा पएपछि समाजसेवी मोक्तानको यूवा समूहले घर बनाइदिनका लागि आर्थिक सहयोगको अभियान शुरु गरेको समाजसेवी मोक्तानले जानकारी दिए । समुहका यूवाहरुले ब्यक्तिगत र विभिन्न संघ, संस्था र ब्यक्तिको सहयोगबाट सात लाख रुपैयाँ संकलन भएको रकमबाट निर्माण गर्न लागेको घरको आइतवार उद्घाटन गरिएको छ । अगुवा युवा मोक्तानका अनुसार जाडो शुरु भइसकेकोले चाँडो भन्दा चाँडो घर तयार पारेर मोक्तान परिवारलाइ हस्तान्तरण गरिने कार्यमा जुटिएको छ । सात लाख रुपैयाँ लागतमा घर निर्माण हुने बताइएको छ ।

यसरी आफ्नै गाउँका भाइ भतिजले घर बनाइ दिने भएपछि मोक्तान परिवारले यूवा समुहप्रति खुशी हुँदै धन्यबाद दिएका छन् । भगवान खोज्नलाइ मठ मन्दिरमा जान्छन तर हाम्रो परिवारको लागि त भगवान नै भएर आइदिनु भयो, सूर्यलाल मोक्तानले खुशीले गहभरी आँसु भार्दै उज्यालो अभियानसँग भने । आर्थिक अवस्था कमजोर भएका मोक्तानको श्रीमति र सुस्त मनस्थिति भएको एक छोरा छन् । हरिवन नगरपलिका ३ का युवाले बेला बेलामा सरसफाईसहित विभिन्न सामाजिक काम गर्दै आएका छन् ।