बलि चढाउनेको ओइरो : बोकाको मूल्य दोब्बरले बढ्यो

173
शनिवार हरिवन बजारमा खशीबोका किनबेच गर्नेहरुको भिड । (तस्बिर : प्रकाश मैनाली)

लालबन्दी – सर्लाहीका बजारमा बोकाको मूल्य दोब्बरले बढेको छ ।

यो महिनामा गढिमाई र कुल पूजामा बली धेरै दिइने भएकाले बोका महँगिएको व्यापारीले बताएका छन् । अरु बेला चार-पाँच हजारमा पाईने बोका अहिले १० हजार भन्दा बढीमा किनबेच भइरहेको लालबन्दीस्थित खसीबोका बजारका ठेकेदार विजय गोलेले जानकारी दिए । उनँका अनुसार पछिल्ला बजारमा बोकाको अत्यधिक व्यापार भइरहेको छ ।

बोकाको राम्रो मूल्य पाएपछि बाख्रापालक किसान खुशी भएका छन् । जिल्लाको लालबन्दी, हरिवन, बरहथवा, बयलवास, सोल्टीजस्ता खसीबोकाको व्यापार हुने बजारमा अहिले बोकाको अत्यधिक माग भइरहेको छ । मूल्य बढेपनि बली चढाउनका लागि बोकाको माग धेरै आइरहेको खसीबोका व्यापारी सन्त लामाले बताए । राम्रो मूल्य पाएपछि व्यावसायिक रुपमा बाख्रापालन हुने जिल्लाको उत्तरी चुरेभेगका किसानले अहिले धमाधम बोका बिक्रीका लागि बजार ल्याइरहेका व्यापारी लामाले बताए । बोकासँगै स्थानीय बजारमा राँगाको व्यापार पनि बढेको छ ।

सर्लाहीसहित तराईका विभिन्न जिल्लामा लागिरहेको पञ्च वर्षिय गढिमाई मेलामा ठूलो सङ्ख्यामा राँगा र बोकाको बली चढाउने तयारी भइरहेको छ ।