सर्लाहीको हरिपूर्वामा शान्तिपूर्ण रुपले मतदान सम्पन्न

167
हरिपूर्वा वडा नं. १ को कार्यालय स्थित मतदान केन्द्रमा शनिबार दिउँसो मत खसाल्न लाईनमा बसेका मतदाता । (तस्बिर : उज्यालो अभियान)

हरिपूर्वा – उपनिर्वाचन अन्तर्गत सर्लाहीको हरिपूर्वा नगरपालिका–१ मा वडाध्यक्षका लागि शनिबार ८० प्रतिशत भन्दा बढी मतदान भएको छ ।
एकहजार ३५६ मतदाता मध्ये एकहजार ९३ जनाले मत खसालेका छन् । मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले ५७५ महिला तथा ५१८ पुरुष मतदाताले मत खसालेको जानकारी दिए । वडा नं. १ को वडा कार्यालयमा रहेको मतदान स्थल अन्तर्गत दुईवटा मतदान केन्द्रमा बिहान ७ बजे बाट साँझ ५ बजेसम्म शान्तिपूर्ण रुपले मतदान कार्य सम्पन्न भएको कोइरालाले बताए । ‘अहिले मतपेटिका समेटेर मुचुल्का उठाउने काम भईरहेको छ’, मुख्य निर्वाचन अधिकृत कोइरालाले भने, ‘अब हरिपूर्वा नगरपालिका कार्यालयमा मतपेटिका लगेर उम्मेद्वार एवं उहाँहरुका प्रतिनिधिबीच सामान्य छलफल पश्चात उहाँहरुकै रोहबरमा मतपेटिका खोलेर रातीबाटै मतगणना सूरु गर्नेछौं ।’
सर्लाहीको पूर्वी–दक्षिण भेगमा पर्ने हरिपूर्वा नगरपालिका–१ को वडा अध्यक्ष निर्वाचनलाई मुख्य दलहरुले प्रतिष्ठाको रुपमा लिएका छन् । शनिबार दिनभर सबै राजनैतिक दलका प्रमुख नेताहरुको मतदान स्थल आसपासमा जमघट देखिन्थ्यो । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष ईसाक अन्सारीको अघिल्लो वर्षको असारमा निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।
सत्ताधारी नेकपाबाट पूर्व वडाध्यक्ष अन्सारीकै छोरा मोहम्मद् दोष अन्सारी उम्मेद्वार छन् भने समाजवादी पार्टीबाट श्यामबाबु राय, राष्ट्रिय जनता पार्टीबाट राम विश्वास राय, नेपाली कांग्रेसबाट रामपृत पासवान, सिके राउतको जनमत पार्टीबाट दिनेश राय यादव तथा दुई स्वतन्त्र सहित सातजना उम्मेद्वार रहेका छन् । नेकपा, समाजवादी र राजपाका उम्मेद्वारबीच त्रिपक्षीय प्रतिष्पर्धा रहेको बताईन्छ ।
हरिपूर्वा वडा नं. १ को कार्यालय स्थित मतदान केन्द्रमा शनिबार दिउँसो मत खसाल्न लाईनमा बसेका मतदाता । (तस्बिर : उज्यालो अभियान)