सर्लाहीको हरिपूर्वामा मतदान जारी (फोटो फिचर सहित)

219

हरिपूर्वा – उपनिर्वाचन अन्तर्गत सर्लाहीको हरिपूर्वा नगरपालिका–१ मा नयाँ वडाध्यक्ष चयन गर्न शनिबार बिहानदेखि मतदान भइरहेको छ ।

बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए । मध्यान्हसम्म ५० प्रतिशत भन्दा बढी मत खसिसकेको छ । वडा नं. १ को कार्यालय स्थित दुईवटा मतदान केन्द्रमा मतदाताले भोट खसालिरहेका छन् । मध्यान्ह १२ बजेसम्म ७३७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

शनिबार साँझ ६ बजे सर्वपक्षिय बैठक राखेर मतगणनाबारे निर्णय हुने मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए । सर्लाहीको पूर्वी–दक्षिण भेगमा पर्ने हरिपूर्वा नगरपालिका–१ को वडा अध्यक्ष निर्वाचनलाई मुख्य दलहरुले प्रतिष्ठाको रुपमा लिएका छन् । सबै राजनैतिक दलका प्रमुख नेताहरुको हरिपूर्वामा जमघट भएको छ ।

मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । वडा कार्यालयस्थित मतदान केन्द्र आसपास ठूलो संख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।

हरिपूर्वा–१, मा एक हजार ३५६ जना मतदाता रहेका छन् । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष ईसाक अन्सारीको अघिल्लो वर्षको असारमा निधन भएपछि मतदान भएको हो । वडाध्यक्षका लागि दुई स्वतन्त्रसहित नेकपा, काँगे्रस, राजपा, समाजवादी र जनमत पार्टीका गरी सात जना उम्मेदवार चुनावी मैदानमा छन् ।