विद्यार्थीलाई झोला र स्वीटर वितरण

100

लालबन्दी– सर्लाहीको लालबन्दी नगरपालिका–१२, जियाजोरमा रहेको नारायण जनता माध्यमिक विद्यालयका विद्यार्थीलाई बिहिवार झोला र स्वीटर वितरण गरिएको छ ।

सारा फाउण्डेसन काठमाण्डौंले विद्यालयको कक्षा १ देखि ५ सम्म अध्ययरत सबै बालबालिकालाई एक–एक थान झोला र स्वीटर प्रदान गरेको हो । चिसो मौसममा स्वीटर पाएपछि बालबालिका र उनीहरुका अभिभावक खुशी भएका छन् । कार्यक्रममा फाउण्डेसनकी अध्यक्ष शर्मिला थापाले आगामी दिनमा पनि विद्यालयमा फाउण्डेसनको तर्फबाट निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण गुर्मछानको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, लालबन्दी नगरपालिका–१२, का वडाध्यक्ष दुर्गा आले मगर, १३ का वडाध्यक्ष शिवकृष्ण बैध, मानव अधिकारकर्मी सुशील शर्मा, नेपाली काँगे्रसकी नेतृ सानु पाख्रिन, प्रधानाध्यापक ऋषिराम सुवेदी लगायतको उपस्थितिमा विद्यार्थीलाई झोला र स्वीटर उपलब्ध गराइएको हो ।

शिक्षिका अन्जु ढकालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन शिक्षक विवश पौडेलले गरेका थिए । यसैबीच क्वीन्स कप राष्ट्रिय छात्र फुटबलमा प्रदेश २ बाट छनौटमा परेको नारायण जनता माध्यमिक विद्यालय जिराजोरले लगातार जीत हाँसिल गरिरहेको छ । काठमाण्डौंमा जारी सो प्रतियोगितामा बिहिवार भएको खेलमा पोखरा सैनिक विद्यालयलाई शुन्यका विरुद्ध एक गोल गरी समूह बिजेता बन्दै नारायण मावि नक आउट चरणमा प्रवेश गरेको छ ।