वन मन्त्रीद्वारा जमुनियामा गढिमाई मेला उद्घाटन

747

–सर्लाहीमा जताततै गढिमाई मेलाको होडबाजी

श्रवण थापा/उज्यालो अभियान
कविलासी (जमुनिया), मंसिर ११ – सर्लाहीको कविलासी नगरपालिका–६, जमुनियाँमा पाँच–पाँच वर्षको अन्तरालमा लाग्दै आएको गढिमाई मेला वुधवारबाट सुरु भएको छ ।

मेलाको वुधवार दिउँसो प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय यादवले उद्घाटन गरे । उनले मेलालाई व्यवस्थित बनाउन आग्रह गर्दै भक्तजनले यही दर्शन गर्न पाए बारामा लाग्ने गढिमाई मेलासम्म पुग्नुपर्ने अवस्थाको अन्त्य हुने बताए । उनले मेला आयोजक समितिलाई ५१ हजार नगद सहयोग गर्ने प्रतिवद्धता सँगै आवश्यक कागजात मन्त्रालयमा पेश गरेपछि मन्दिर स्थललाई पर्यटकीय क्षेत्रको सूचीमा पारिदिने र ठूलो मन्दिर निर्माणमा बजेट उपलब्ध गराउने आश्वासन समेत दिएका छन् ।

गढिमाई मेला उद्घाटन अघि बुधबार जमुनिया गाउँ परिक्रमा निस्किएको कलश यात्रा । (तस्बिर : अच्युत कुमार सापकोटा/उज्यालो अभियान)

मेलाको उद्घाटन समारोहलाई मन्त्री यादवसँगै कविलासी नगरपालिकाका मेयर कौशलकिशोर राय, पूर्व सांसद हरेश महतो, नेपाली कांग्रेसका नेता कृष्णदेव राय, राजपा नेपालका केन्द्रीय सह–महामन्त्री जेपी यादवलगायतले सम्वोधन गरे । स्थानीय बासिन्दा समेत रहेका नेपाल पत्रकार महासंघ सर्लाहीका कोषाध्यक्ष रामगोविन्द यादवको सञ्चालन रहेको उद्घाटन समारोहको अध्यक्षता कविलासी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष एवं गढिमाई मेला आयोजक समितिका संयोजक कोदई मुखियाले गरेका थिए ।

उद्घाटन अघि हजारौं स्थानीय वासिन्दाको सहभागितामा कलश यात्रा निकालिएको थियो । बिहानै निस्केको कलश यात्रा जमुनिया गाउँ परिक्रमा गर्दै दिउँसो गढीमाई मन्दिरमा आएर टुंगिएको थियो । आयोजकका अनुसार मेला मङ्सिर १८ गतेसम्म चल्नेछ । मेलामा मंसिर १७ र १८ गते बोकाको बली दिने र परेवा उडाउने व्यवस्था मिलाइएको मेला आयोजक समितिले जनाएको छ । यस्तै राँगा बली दिनेहरुका लागि १७ गते नै व्यवस्था मिलाइएको छ ।

हरेक पाँच–पाँच वर्षमा लाग्दै आएको र यसअघिको मेलामा ४७५ वटा राँगा तथा हजारौं बोकाको बली चढाइएको आयोजक समितिका संयोजक मुखियाले बताए । विगत २५ वर्षदेखि लाग्दै आएको मेलामा यसवर्ष भने बली स्वरुप चढाईने राँगा बिक्रीका लागि मात्र २१ लाख ५ हजारमा ठेक्का लागेको मेला समितिले जनाएको छ ।

केही दिनअघि कविलासी नगरपालिकाका मेयर कौशलकिशोर राय यादव, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीलगायतको उपस्थितिमा सर्वपक्षिय छलफल आयोजना गरी मेलालाई सभ्य र विवादरहित बनाउने निर्णय भएको थियो । मेला अवलोकनका लागि कविलासीसहित छिमेकी पालिकाबाट ठूलो संख्यामा श्रद्धालुहरु आउन गरेका स्थानीय वासिन्दाले बताएका छन् ।

स्थानीयका अनुसार जुमनियाँस्थित गढिमाई मन्दिर ऐतिहासिक र पुरानो रहेको बताइन्छ । मन्दिरका हालका पूजारी असर्फी राउतले आÇनो सात पुस्ता मन्दिरको पूजारी भइसकेको बताए । मुख्य गढिमाई मन्दिर जमुनियाकै भएको दाबी गर्दै पुजारी राउतले जमुनियामा बत्ती नबाली बाराको गढिमाईमा समेत बत्ती नबल्ने दाबी गरे । यहाँ भारतबाट समेत राँगा र बोका बली चढाउन भक्तजन आउने गरेको आयोजकले दाबी गरेका छन् ।

जमुनियाँमा झैं सर्लाहीका अन्य पाँच स्थानमा पनि गढिमाई मेला सुरु भएको छ । कविलासी नगरपालिकाको बिनंग्रा, हरिपुर नगरपालिकाको रनियाँ, ढापटोल, फरहदवा, चन्द्रनगर गाउँपालिकाको गढा गाउँलगायतका स्थानमा पनि गढिमाई मेला आयोजना गरिएको स्थानीयले बताएका छन् । पछिल्लो समय विभिन्न ठाउँमा गढिमाई मेला लगाउने होडबाजी समेत बढेको छ ।