बिहान र बेलुका चिसो बढ्यो

127

लालबन्दी – सर्लाहीमा बिस्तारै चिसो बढ्दै गएको छ । दिउँसोपख खासै चिसो नभएपनि राती, बिहान र साँझको समयमा चिसो दिनानुदिन बढ्दै जान थालेको हो ।

जिल्लामा बिहान र बेलुका हुस्सु समेत लाग्ने गरेको छ । केही दिनदेखि मौसम धाम्मधुम्म भएकाले यस क्षेत्रमा चिसो अझ् बढेको महसुस भइरहेको छ । चिसो बढ्दै जाँदा शरीर ढाक्ने र राती सुत्दा ओढ्ने–ओछ्याउने न्यानो कपडा नहुँदा विपन्न परिवार प्रभावित हुन थालेका छन् ।

अहिले जिल्लाका हरेक स्वास्थ्य संस्थामा चिसोबाट प्रभावित भई उपचार गराउन पुग्ने बिरामीको संख्या बढिरहेको छ । ज्वरो, खोकी, घाँटी दुख्ने लगायत स्वास्थ्य समस्या भएका बिरामी बढेकाले ख्याल गर्न चिकित्सकले आग्रह गरेका छन् । अहिले चिसोसँगै जता–ततै धूलोको समस्या पनि रहेकाले घरबाहिर हिँड्डुल गर्दा स्वास्थ्यको ख्याल गर्नुपर्ने हुन्छ ।

यसैबीच चिसो बढ्दै जाँदा जिल्लाका मुख्य बजारमा न्यानो कपडाको व्यापार बढेको छ । जिल्लाको लालबन्दी, हरिवन, मलंगवा, बरहथवालगायतका बजारमा जाडोका न्यानो कपडाको व्यापार बढेको हो ।