आज मध्यरातबाट सर्लाहीमा भारतीय सिमा ‘सिल’ हुने

755
भारतको सोनवर्षा बजारबाट आवतजावत हुने त्रिभुवननगर सिमा नाका । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – भारतसँग जोडिएको सर्लाहीको पूर्वी–दक्षिण क्षेत्रका तीनवटा सिमा नाका आज (विहिबार) मध्यरातबाट सिल हुदैछ ।

उपनिर्वाचन अन्तर्गत जिल्लाको पूर्वी–दक्षिण क्षेत्र स्थित हरिपूर्वा नगरपालिका वडा नं. १ मा आगामी मंसिर १४ गते शनिबार हुने मतदानलाई मध्यनज गर्दै विहिबार राती १२ बजेबाट शनिबार राती १२ बजेसम्म सिमा नाका सिल गर्न लागिएको हो । निर्वाचन अन्तर्गत मतदानका दिन अपृय घटना नहोस् भनेर भारतीय सिमा नाका सिल गरिने जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

‘खुला सिमा भएकाले भारतबाट अपराधिक व्यक्तिहरु प्रवेश नगरुन तथा अवैध ओसारपसार रोक्नका लागि मतदान नसकिएसम्मका लागि सिमा नाकाहरु बन्द गर्न लागिएको हो’, प्रजिअ जिसीले भने, ‘संग्रामपुर, पर्सा र त्रिभुवननगर नाका पूरै सिल गर्छौं र अन्य नाकाहरुमा विशेष निगरानी सहित सुरक्षा सतर्कता अपनाउने छौं ।’ सिमा सिल गर्ने बारे भारतीय सुरक्षा अधिकारीलाई लिखित पत्र पठाएर तथा फोनबाट समेत जानकारी गराईसकिएको प्रजिअ जिसीले जानकारी दिए । ‘यसपटक एउटा वडामा मात्र निर्वाचन भएकाले दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक बसेन’, प्रजिअ जिसीले भने, ‘लिखित पत्रबाटै भारतीय सुरक्षा अधिकारीलाई जानकारी गराएका छौं ।’

सिमा सिल भएको समयमा तीनवटै नाकाबाट मानिस तथा सवारी आवातजावत पूर्ण रुपले निषेध गरिने स्थानीय प्रशासनले जनाएको छ । जनप्रतिनिधि रिक्त रहेको देशका अन्य स्थानीय तहमा झैं सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिका–१, मा पनि शनिबार मतदान हुँदैछ ।
त्यहाँ दुई स्वतन्त्रसहित सात जना उम्मेदवार वडाध्यक्षको चुनावी मैदानमा छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपनिर्वाचनको तयारी लगभग पूरा भएको जनाएको छ । मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले आफूहरुको तर्फबाट उपनिर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको बताए । एक हजार ३५६ जना मतदाता रहेको हरिपूर्वा नगरपालिका–१, मा दुई वटा मतदान केन्द्र छन् ।

#सिमा #सिल #उपनिर्वाचन