साना किसान सहकारीको मध्यरातमा ताला फुटाईयो

शंकरपुर (सोल्टी) – सर्लाहीको बागमति नगरपालिका–१० शंकरपुर सोल्टीमा रहेको साना किसान कृषि बहुमुखी सहकारी संस्थामा मंगलबार राती चोरीको प्रयास भएको छ ।

बुधबार बिहान कार्यालय खोल्ने क्रममा भवनको मूलगेटको ताला फुटाएको देखेपछि कर्मचारीले चोरीको प्रयास भएको आशंका गरेका थिए । लगतै माथिल्लो तला चढ्ने ढोकाको समेत ताला फुटाएको फेला परेको थियो ।

दुईवटा ताला फुटाएको फेला परेपछि कार्यालयमा राखिएको सीसी टिभी फूटेज हेर्दा चोरीको प्रयास भएको थाहा भएको हो । कार्यालयको बाहिर भित्तामा राखिएको सिसि क्यामरामा कैद गरिएको भिडियोमा राती सवा बाह्र बजे संस्थाको उत्तरपट्टिको पर्खालबाट टोपी र मास्क लगाएका तीनजना व्यक्ति कार्यालयको मुलढोकाको ताला फुटाउँदै गरेको देखिएको संस्थाका प्रबन्धक माधवप्रसाद काप्mलेले जानकारी दिए ।

काप्mलेका अनुसार मूल ढोको ताला फुटाएर माथिल्लो तला छिरेका उनिहरुले कार्यालयको प्रशासनिक कोठामा प्रवेश गर्ने सटर र च्यानल गेटमा रहेको ताला फुटाउन प्रयास गरेपनि नसकेको फुटेजमा देखिएको छ । उनीहरु संस्थामा रहेको नगद चोरी गर्ने उदेश्यले आएको अनुमान गरिएको छ । फुटेजमा देखिए अनुसार तीनैजनाले हातमा रड, साइड ब्याग बोकेका छन् ।

घटनामा संलग्नहरुको खोजी गर्न प्रहरीमा उजुरी दिइसकेको प्रबन्धक काफ्लेले जानकारी दिए । यो सहकारी बागमती नगरपालिका लगायत त्यस क्षेत्रकै सबैभन्दा बढी आर्थिक कारोबार गर्ने संस्था हो । शंकरपुरको सोल्टी बजार लगायत गाउँका बिभिन्न ठाउँमा पटक पटक चोरीका घटना भैरहँदा पनि प्रहरी भने मौन रहेको स्थानीयले आरोप लगाएका छन् । केही दिन अघि मात्रै बागमति नगरपालिका–८ ठकुरीटोलमा एक स्थानीयको भैंसी समेत चोरी भएको थियो । प्रहरीले भने चोरी प्रयासको घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ ।