धनकौलमा गाउँपालिका भवन शिलान्यास

धनकौल–सर्लाहीको धनकौलमा गाउँपालिका कार्यालय भवनको शिलान्यास गरिएको छ ।

धनकौल गाउँपालिका वडा नम्वर–२, मा झण्डै ६ करोड लागतमा निर्माण हुन लागेको भवनको प्रदेश सभा सदस्य वीरेन्द्र सिंहले शिलान्यास गरेका हुन् । गाउँ कार्यपालिकाको निर्णय अनुसार आफ्नै भवन निर्माण गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले जानकारी दिए । धनकौल गाउँपालिका हाल भाडाको घरबाट सञ्चालन भइरहेको छ । २० स्थानीय तह रहेको सर्लाहीमा धनकौलसहित धेरैजसो स्थानीय तह भाडाको घरबाट सञ्चालन भइरहेका छन् ।

जिल्लाको पूर्व–पश्चिम राजमार्ग क्षेत्रका स्थानीय तहको तुलनामा दक्षिणी भेगका स्थानीय तहलाई कार्यालय भवनको अभाव खड्किएको छ । पर्सा गाउँपालिका लगायत भारतीय सीमावर्ती क्षेत्रका केही स्थानीय तहले कार्यालय सञ्चालन गर्न मिल्ने भाडाको घर समेत पाउन सकेका छैनन् । भाडाको घर नपाउँदा पर्सा गाउँपालिका कार्यालय साबिक गाउँ विकास समिति (गाविस) को पानी चुहिने साँघुरो भवनबाट सञ्चालन भइरहेको छ ।