चिसो भुइँमा बसेर पढ्नु पर्ने बाध्यता

372
चिसो भुइँमा बसेर पढ्दै गरेका जनता आधारभूत विद्यालय भवानीपुरका विद्यार्थी । (फाईल तस्बिर : उज्यालो अभियान)

बसबरिया – सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरमा रहेको जनता आधारभूत विद्यालयका विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य भएका छन् ।

डेस्क बेन्चको अभावमा कलिला बालबालिका भुइँमा बोरा ओछ्याएर पढ्न बाध्य भएका हुन् । विद्यालयमा उपलब्ध डेस्क बेन्च माथिल्लो कक्षाका विद्यार्थीले प्रयोग गर्दा साना बालबालिका चिसो भुँइमा बसेर पढ्नु परेको हो । गाउँपालिका कार्यालयकै अगाडि रहेको सो विद्यालय निकै दयनीय अवस्थामा सन्चालन भइरहेको छ ।

विद्यालयमा शिक्षकको पनि समस्या छ । कार्यालय सहयोगीसहित नौ जना शिक्षक कार्यरत छन् । विद्यालयमा बाल विकासदेखि कक्षा १० सम्म झण्डै साँढे पाँच सय विद्यार्थी अध्ययरत छन् । विद्यालयका प्रधानाध्यापक रामबाबु यादवले डेस्क बेन्च र शिक्षकको समस्याबारे गाउँपालिकामा पटक–पटक लिखित र मौखिक जानकारी गराउँदा पनि सुनुवाई नभएको गुनासो गरेका छन् । आँखाकै सामुन्नेमा रहेको विद्यालयलाई जनप्रतिनिधिले पाँच पैसा पनि सहयोग नगरेका प्रधानाध्यापक यादवको भनाई छ ।

गाउँपालिका भरीका प्रअहरुको बैठकमा गाउँपालिका प्रमुख समक्ष विद्यालयको समस्या राखे पनि बेवास्ता गरिएको प्रअ यादवले दुःखेसो गरे । विद्यालयको दयनिय अवस्थाबारे सबैलाई जानकारी छ, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सबैले देखेकै छन्, तर केही वास्ता भने गरेका छैनन्, प्रअ यादवले उज्यालो अभियानसँग भने, जिम्मेवार जनप्रतिनिधिको बेवास्ताकै कारण विद्यालयको यो अवस्था भएको हो ।

बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या राय यादवले भने सबै विद्यालयलाई समान व्यवहार गरिएको बताएका छन् । उनले भवानीपुर विद्यालयको समस्याबारे आफू जानकार रहेकाले चाँडै नै शिक्षक र डेस्क बेन्चको व्यवस्था गर्ने बताएका छन् । विद्यालयको अवस्थाबारे म पनि जानकार नै छु, हामीले सबै विद्यालयलाई समान व्यवहार गरेर शिक्षाको अवस्था सुधार गर्ने प्रयास गरिरहेका छौँ, गाउँपालिका अध्यक्ष यादवले भने ।

२०२१ सालमा स्थापना भएको सो विद्यालयले आफ्नो नाममा रहेको छ विगाह जग्गा भाडामा लगाएर बर्सेनी दुई लाख रुपियाँ आम्दानी गर्दै आएको छ । भवानीपुरका नागरिक अगुवा गजेन्द्र साहले जनप्रतिनिधिको बेवास्ताले गाउँको सरकारी विद्यालय दयनीय अवस्थाबाट गुज्रिरहेको बताए । गरिव तथा विपन्न वर्गका छोराछोरी पढ्ने विद्यालयको अवस्था अत्यन्त दयनीय छ, जनजनप्रतिनिधिले केही गरेका छैनन्, साहले भने, आन्तरिक आम्दानी पनि राम्रो रहेको विद्यालयलाई प्रभावकारी रुपमा सञ्चालन गर्न जनप्रतिनिधिले चासो दिन जरुरी छ ।