उपनिर्वाचन हुने हरिपूर्वा लगायतबाट ठूलो परिमाणमा मदिरा बरामद्

120

ईश्वरपुर–सर्लाहीको हरिपूर्वा सहित विभिन्न स्थानबाट नेपाल प्रहरीले ठूलो परिमाणमा घरेलु मदिरा बरामद् गरेको छ । आगामी मंसिर १४ गते उपनिर्वाचन हुने जिल्ला स्थित हरिपूर्वा नगरपालिका लगायत विभिन्न क्षेत्रबाट प्रहरीले साँढे नौसय लिटर घरेलु मदिरा बरामद् गरेको हो ।

ईश्वरपर नगरपालिका अन्तर्गत बयलबास बजार स्थित ईलाका प्रहरी कार्यालय केशरगंजको गस्ती टोलीले बरामद् गरेको मदिरा बुधबार बिहान फूलजोर खोलामा पोखेर नष्ट पारिएको छ । संचारकर्मी, जनप्रतिनिधि लगाएत सरोकारवालाहरुको रोहबरमा बरामद् मदिरा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक जयकृष्ण प्रसाद कुर्मीले जानकारी दिए । प्रहरी निरीक्षक कुर्मीका अनुसार उपनिर्वाचन हुने हरिपूर्वा लगायत विभिन्न गाउँहरुबाट उक्त घरेलु मदिरा बरामद् गरिएको हो ।

हरिपूर्वा नगरपालिका–१ को वडा अध्यक्षका लागि आगामी मंसिर १४ गते मतदान हुँदैछ । केही दिनअघि बसेको जिल्ला सुरक्षा समितिको बैठकले निर्वाचनलाई मध्यनजर गर्दै भोली विहिबारबाट तीन दिनसम्म हरिपूर्वा नगरपालिकाभर मदिरा किनबेचमा निषेध गर्ने निर्णय गरेको समितिका सदस्य प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

उपनिर्वाचन अन्तर्गत शान्ति सुव्यवस्था कायम गराउन मदिरा बरामद् सहित सुरक्षा व्यवस्थामा कडाई गरिएको प्रहरीले जनाएको छ । गाउँ–गाउँमा सर्वसुलभ रुपमा पाईने घरेलु मदिरा सेवन पश्चात स्थानीयबीच विवाद बढ्ने र ठूला खाले झडपका घटना समेत हुने गरेको छ ।