उपचुनाव : सीमा नाका बन्द हुने

217
सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय । (तस्बिर : उज्यालो अभियान)

मलंगवा-भारतसँग सीमा जोडिएको सर्लाहीका तीनवटा सीमा नाका चार दिन बन्द गरिने भएको छ ।

मंसिर १२ गतेदेखि १५ गतेसम्म जिल्लाको दक्षिण–पूर्वी भेगको संग्रामपुर, पर्सा र त्रिभुवन–नगर नाका बन्द गरिने सर्लाहीका प्रहरी प्रमुख गोपालचन्द्र भट्टराईले जानकारी दिए । जिल्ला सुुरक्षा समितिको निर्णय अनुसार मंसिर १४ को उपनिर्वाचनलाई मध्यनजर गर्दै सीमा नाका बन्द गर्न लागिएको हो । सो अवधीमा तीनवटै सीमा नाकाबाट मानिस तथा सवारी आवातजावत बन्द गरिने प्रहरी प्रमुख भट्टराईले बताए । जनप्रतिनिधि रिक्त रहेको देशका अन्य स्थानीय तहमा झैं सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिका–१, मा पनि अबको तीन दिनपछि मङ्सिर १४ मा उपनिर्वाचन हुँदै छ ।

त्यहाँ दुई स्वतन्त्रसहित सात जना उम्मेदवार वडाध्यक्षको चुनावी मैदानमा छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपनिर्वाचनको तयारी लगभग पूरा भएको जनाएको छ । मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले आफूहरुको तर्फबाट उपनिर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको बताए । एक हजार ३५६ जना मतदाता रहेको हरिपूर्वा नगरपालिका–१, मा दुई वटा मतदान केन्द्र छन् । वडा कार्यालयको परिसरमै रहेको मतदान केन्द्रमा सुरक्षा निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।