‘मन्त्रीबाट हटेकाहरु असफल वा नालायक हैनन्’ : प्रवक्ता श्रेष्ठ

108

हरिवन– सत्ताधारी नेपाल कम्युष्टि पार्टी (नेकपा) का प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले हालै मन्त्रिमण्डल पुनर्गठनमा पूर्व नेकपा एमाले र माओवादी केन्द्रबीच कुनै पनि किसिमको भागवण्डा नभएको दावी गरेका छन् । आईतबार दिउँसो सर्लाहीको हरिवन स्थित स्वाभिमान अस्पतालमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले बाहिर हल्ला भएजस्तो पूर्व दुई पार्टीबीच भागवण्डाबाट मन्त्री नियुक्त नभएको दाबी गरे । ‘पार्टी भित्र कुनै पनि दुई समूहबीच भागवण्डा गरेर मन्त्री नियुक्त गरिएको छैन’, उनले भने, ‘पार्टीका सांसद्हरुलाई आवश्यकता अनुसार प्रधानमन्त्रीले नियुक्त गर्नु भएको हो ।’

पूर्ण रुपले असफल भएर नेताहरुलाई मन्त्रीबाट नहटाईएको जिकिर गर्दै नेता श्रेष्ठले सरकारको काम कारबाही थप प्रभावकारी बनाउनका लागि प्रधानमन्त्रीज्यूले मन्त्रिमण्डल पुनर्गठन गरेको श्रेष्ठको भनाई छ । ‘मन्त्रीबाट हट्ने साथिहरु पूर्ण रुपले असफल वा नालायक भन्ने हैन’, श्रेष्ठले भने, ‘सरकारको कामकारबाही थप प्रभावकारी बनाउने उद्धेश्यले अरु साथिहरुलाई अवसर दिनका लागि मन्त्रीमण्डल पुनर्गठन गरिएको हो ।’

नेता श्रेष्ठले सचिवालयकै कमजोरीका कारण पार्टीको तल्लो तहसम्म एकता प्रकृया टुंगिन नसकेको बताए । ‘सचिवालयकै कमजोरीले पार्टीको तल्लो तहसम्म एकता प्रकृया टुंगिई सकेको छैन’, उनले भने, ‘तीन महिनामै सक्ने पूर्व निर्धारित सहमति भएपनि डेढ वर्ष वितिसक्दा समेत तल्लो तहसम्म पार्टी एकता प्रकृया टुंगिन नसक्नुमा नेतृत्वकै मुख्य कमजोरी हो ।’ अब चाँडै नै तल्लो तहसम्मको एकता प्रकृया टुंगिने समेत उनले विश्वास व्यक्त गरे ।

भारतले मिचेको भूमि फिर्ता गराउने सवालमा सरकारले उच्च राजनैतिक एवं कुटनैतिक तहबाट कुरा गरिरहेको श्रेष्ठले दाबी गरे । ‘नेपालको तर्फबाट सरकारले भारत सरकारलाई सिमा विवादका विषयमा वार्ताका लागि लिखित पत्र पठाईसकेको छ’, उनले भने, ‘भारतको जवाफ आएपछि सरकारले उचित कदम चाल्नेछ ।’ पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले मिचिएको भूमि फिर्ता गराउन सरकारले सक्दो पहल गरिरहेको दाबी गरे ।

नेता श्रेष्ठले नेत्र विक्रम चन्द विप्लव समूहको पार्टी लाईन नै गलत रहेको र वस्तुनिष्ठ नरहेको दाबी गरे । ‘विप्लव समूहको पार्टी लाईन नै गलत छ, वस्तुनिष्ठ पनि छैन’, श्रेष्ठको दाबी थियो, ‘उहाँहरुले राजनैतिक अस्थिरता निम्त्याउने गतिविधी गरिरहनु भएको छ, हाम्रो पार्टी एवं सरकार वार्ताका लागि सकारात्मक छ र संवादकै माध्यमले समाधान गर्ने दिशामा कटिवद्ध छ ।’ नेता श्रेष्ठले हत्या हिंसाको बाटो छाडेर अविलम्ब वार्तामा आउन समेत विप्लव समूहलाई आग्रह गरे ।

अर्को छुट्टै प्रसंगमा बोल्दै नेता श्रेष्ठले पटक पटक संघर्ष गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था जस्तो राजनैतिक परिवर्तन भएकाले अब आर्थिक परिवर्तनका लाग ध्यान दिनुपर्नेमा जोड दिए । ‘राजनैतिक संघर्षको एउटा अध्याय सकिएको छ, मुलुक नयाँ युगमा अगाडी बढेको छ, अब आर्थिक क्रान्ति सहित समृद्धिको बाटोमा हातेमालो गर्दै अगाडी बढ्नु अहिलेको प्रमुख आवश्यकता हो’, उनले भने, ‘समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार पार्नका लागि अब आर्थिक परिवर्तनको पक्षमा सबैले एकजुट भएर लाग्नुपर्छ ।’

आईतबार दिनभर सर्लाहीमा बिताएका नेता श्रेष्ठले हरिवन स्थित समृद्धि बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा उद्घाटन समारोह तथा कर्मैयामा भएको १९ औं जनमुक्ति सेना दिवसका अवसरमा समसामयिक राजनैतिक प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा भाग लिएर सम्बोधन गरेका थिए ।