मनोकामनाको अध्यक्षमा पुनः शम्भुलाल

323

सर्लाही – सर्लाहीको हरिवनमा केन्द्रिय कार्यालय रहेको मनोकामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः शम्भुलाल श्रेष्ठ चयन भएका छन् । सर्लाही हरिवन, मंसिर ०९ – सर्लाहीको हरिवनमा केन्द्रिय कार्यालय रहेको मनोकामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः शम्भुलाल श्रेष्ठ चयन भएका छन् ।

हरिवन बजार स्थित कार्यालय प्रांगणमा सोमबार दिउँसो सम्पन्न १४ औं साधारण सभाले पूर्व मन्त्री श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । संचालक समितिको उपाध्यक्षमा कृष्ण ओम पोते तथा सदस्यहरुमा दिपक बहादुर थापा, अर्जुन महतो कुशवाहा, शेषराज उप्रेती, ईन्द्र योन्जन, बिमला रायमाझी, मैना कुमारी लुंगेली, रुद्र बहादुर श्रेष्ठ, प्रकाश कुमार श्रेष्ठ, किशोर बराईली, सिता थापा र लोक कुमारी काफ्ले चयन भएका छन् । यस्तै संस्थाको लेखा समिति संयोजकमा मुखचन्द्र महतो र सदस्यमा सुन्धरा श्रेष्ठ चयन भएका छन् भने एक जना पछि चयन गर्ने संस्थाले जनाएको छ ।

संस्थाले आर्थिक बर्ष २०७५÷०७६ मा २६ करोड ३८ लाख १८ हजार ४ सय ३२ रुपैया ५९ पैसा कारोवार गर्दै ८१ लाख ३० हजार रुपैंया मुनाफा कमाएको ब्यवस्थापक कृष्ण कुमार श्रेष्ठले जानकारी दिए । संस्थाले आउदो शैक्षिक सत्रबाट विद्यालय समेत संचालनमा ल्याउने तयारी भैरहेको जनाएको छ ।

संस्थाका अध्यक्ष श्रेष्ठको अध्यक्षता रहेको उद्घाटन समारोह नेपाल केन्द्रिय बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीको प्रमुख आतिथ्या रहेको थियो । प्रमुख अतिथि भण्डारीले सहकारी संस्थाहरु सहकारीको मर्म र भावना अनुरुप संचालन हुनुपर्नेमा जोड दिए । कार्यक्रमका अधिकांश वक्ताहरुले सहकारीले शेयर सदस्यको पैसा शेयर सदस्यलाई ऋण दिएर सहकारी चलाउने प्रकृया बन्द गर्नु पर्ने बताएका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले शुभकामना मन्तव्य राखे भने कांग्रेस हरिवन सभापति रामशरण उप्रेती, हरिवन वडा नं. १० का वडाध्यक्ष एवं सहकारी विभाग प्रमुख शम्भु मैनाली, कांग्रेस नेता एवं मातामनकामना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्र योञ्जन, नेकपाका नेता चूडामणि वाग्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सञ्चालक सदस्य दिपकबहादुर थापाले स्वागत गरेका थिए भने व्यवस्थापक कृष्णकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थामा हाल एकहजार २९ पुरुष, एकहजार २०३ महिला र ८३ संस्थागत गरी जम्मा दुईहजार २७२ जना शेयर सदस्य रहेको ऋण अधिकृत सन्तोष पाण्डेले बताए ।