किसानलाई डढुवाको चिन्ता

103

सर्लाही–गोलभेडा र आलुमा डढुवा रोग फैलने त्रासले सर्लाहीका किसान चिन्तित भएका छन् ।

केही दिनदेखि मौसम धुम्मिने र हुस्सु लाग्ने हुन थालेपछि किसान डढुवाको त्रासमा परेका हुन् । गोलभेडामा फल लाग्न नपाउँदै यो वर्ष चाँडै हुस्सु लागेपछि डढुवाको प्रकोप फैलिने हो की भन्ने त्रास रहेको लालबन्दी नगरपालिका–१७, रानीगञ्जकी किसान जुना घिमिरेले गुनासो गरिन् । जिल्लाको उत्तरी भेगका रानीगन्ज, लालबन्दी, पत्थरकोट, अत्रौली, सासापुर, नवलपुर, जब्दी लगायतको क्षेत्रमा व्यवसायिक रुपमा गोलभेडा खेती हुने गरेको छ ।

मेहनत गरेर हुर्काउँदै गरेको गोलभेडामा मङ्सिर पहिलो साताबाटै लाग्न थालेको हुस्सुले असर गर्ने चिन्ता परेको हरिवन नगरपालिकाको अत्रौलीका किसान बाबुलाल दोङले बताए । स्थानीय जातको गोलभेडा बिक्रीबाट यस भेगका किसानले बर्सेनी राम्रो आम्दानी गर्दै आएका छन् । यहाँका किसान हिजोआज गोलभेडा गोडमेलमा ब्यस्त छन् । जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका प्रमुख देवानन्द राय यादवले रातीको तापक्रम १० डिग्री भन्दा कम र दिउँसोको समयमा २० डिग्री भन्दा बढी नहुने अवस्थामा डढुवाको प्रकोप हुने बताए ।

उनले अहिले नै जिल्लामा डढुवाको प्रकोप नदेखिएपनि सावधानी भने अपनाउनु पर्ने बताए ।