‘हाईब्रिड’ मकै रोप्ने चटारोमा किसान

179

घनश्याम बलम्पाकी –धान भित्र्याएसँगै जिल्लाका किसान ‘हाईब्रिड’ मकै रोप्ने चटारोमा लागेका छन् । केही समययता धान भित्र्याउने चटारोमा परेका किसान केही दिनयता मकै रोप्ने हतारोमा छन् । लोकल मकैको तुलनामा अत्याधिक बढी उत्पादन हुने भएकाले किसानहरु पछिल्लो समय हाईब्रिड मकैप्रति आकर्षित हुँदै गएका छन् ।

मुलुककै अन्नभण्डारको रुपमा रहेको तराई अन्तर्गत सर्लाहीका किसान पनि धान भित्र्याएपछि खाली भएको जमिन जोतेर मकै रोप्नका लागि ब्यस्त बनेका हुन् । जिल्ला स्थित कर्मैया, राजघाट, शंकरपुर, हजरिया, बरहथवा, मुर्तिया, जानकीनगर, परवानीपुर, कालिञ्जोर, रानिगंज, पथ्थरकोट लगायत स्थानमा ब्यवसायिक रुपले हाईब्रिड मकै खेती हुने गरेको छ ।

धान काटेर भित्र्याएपछि त्यस क्षेत्रका किसानले हिउँदे बालीका रुपमा मकै खेती गर्ने गरेका छन् । अन्य जातको भन्दा वर्णशंकर (उन्नत) जातको मकैमा बढी फसल लाग्ने भएकाले किसानहरुले सोही जातको मकै रोप्ने गरेको बागमती नगरपालिका–८, शंकरपुरका किसान शंकर लामाले जानकारी दिए । खेती हुनेगरेको छ । ‘पहिला पहिला हिउँदे बालीको रुपमा कोदो, तोरी, दलहन लगायत तरकारीबाली लगाईन्थ्यो’, लामाले भने, ‘तर पछिल्लो समय हाईब्रिड मकैबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरु यही खेतीतर्फ आकर्षित भएका छन् ।’ सिंचाइको सुविधा भएकाले पनि मकै खेतीबाट राम्रो आम्दानी हुन थालेको लामाको कथन छ ।

केही वर्षअघि सम्म मुल्य र बजारको अभाव खेप्दै आएका किसान गतवर्षदेखि उक्त समस्याबाट समेत मुक्त भएका छन् । गतबर्षदेखि राम्रो मुल्य अनि बजार पाएपछि किसानहरु मकै खेती तर्फ आकर्षित भएको लामाको दाबी छ । उखु खेतीमा वर्षौंसम्म भुक्तानी नपाउने र उद्योगलाई बिक्री गर्न पनि निकै झञ्झटिलो भएकाले पछिल्लो समय किसानहरु मकै खेतीतर्फ आकर्षित बनेको केही वर्षअघि सम्म उखु खेती गर्दै आएका लामाले जानकारी दिए ।

जानकीनगरका किसान लालदेव महतो नौवर्ष देखि एक बिगाहामा मकै खेती गर्दै आइरहेका छन् । सातवर्ष सम्म खासै मुल्य नपाएका महतोले गतवर्ष भने मकैबाट तुलनात्मक रुपमा राम्रै आम्दानी गरे । विगत वर्षहरुमा प्रति क्विन्टल १६ देखि १९ सय सम्ममा बिक्रि गरेका महतोले गतवर्ष भने प्रति क्विन्टल ३ हजारमा मकै बिक्री गरेका थिए । मुल्य र बजार बढेसँगै यसवर्ष उनले दुइ बिगाहामा मकै खेती गरेका छन् । गत बर्षको जस्तै मुल्य रहेमा खर्च कटाएर बिगाहको १लाख २० हजारसम्म आम्दानी हुने महतोको अपेक्षा छ ।

कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख देवानन्द रायका अनुसार अन्य खेतीमा भन्दा गतबर्ष देखि वर्णशंकर(उन्नत) जातको मकैमा किसानले राम्रो आम्दानी लिन थालेपछि सिंचाइ भएका जिल्लाको अन्य ठाँउका किसान पनि मकै खेती तर्फ आकर्षित भएको बताउँछन् । हाल सर्लाही जिल्लामा दश हजार हेक्टर जमिनमा उन्नत जातको मकै खेती भैरहेको प्रमुख यादवले जानकारी दिए ।