रामेश्वर राय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त

270
श्रममन्त्री रामेश्वर राय यादव ।

सर्लाही –सर्लाही क्षेत्र नम्वर ३ का प्रतिनिधि सभाका सांसद रामेश्वर राय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त भएका छन् ।


राष्ट्रपति कार्यालयले जारी गरेको सुचना अनुसार राय मन्त्री नियुक्त भएका हुन । पूर्व माओवादी केन्द्रको सिफारिस अनुसार नयाँ मन्त्रीमा राय पनि परेका हुन् । उनले उद्योग वा कृषि मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको काठमाण्डौंमा रहेका नेकपा सर्लाहीका एक नेताले बिहवार साँझ उज्यालो अभियानसँगको कुराकानीमा
बताएका थिए।

तर उनलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलयको जिम्मेवारी दिईएको छ। यादव मन्त्री नियुक्त भएपछि विकासमा टेवा पुग्ने भन्दै सर्लाहीवासीले खुशी व्यक्त गरेका छन् । नेकपा र नेता यादवका शुभेच्छुकले उनी मन्त्री बन्ने सम्भावनाबारे समाचार सामाजिक सञ्जालमा एक साता अघि देखिनै शेयर गरिरहेका थिए। पूर्व माओवादीले सिफारिस गरेको नयाँ नामावलीमा यादव र लेखराज भट्टको नाम थियो ।

यादवलाई मन्त्री बनाउन नेकपा सर्लाहीका नेताहरुको एक समूह केही दिनदेखि संघीय राजधानी काठमाण्डौंमै छ । नेकपा सर्लाहीका नेताहरुले उनलाई मन्त्री बनाउन केही समयअघि देखिनै दौडधुप गरिरहेका थिए । यादव संविधान सभा निर्वाचनको मुखैमा तत्कालिन बिजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको उपाध्यक्ष छाडेर माओवादीमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्ने बित्तिकै माओवादीले उनलाई क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभाको टिकट प्रदान गरेको
थियो । चक्रघट्टा गाउँपालिका निवासी यादव यसअघि एक पटक मन्त्री भइसकेका छन् ।

नयाँ मन्त्रीहरुको सपथ आज ( बिहिवार) हुने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वुधवार नै मन्त्री हेरेफेर गरी सपथ ग्रहण गराउने बताइए पनि साँझ अबेर स्थगित गरी बिहिवार(आज)का लागि सारिएको हो । नियुक्त का रायका छोरा बिक्रम यादव चक्रघट्टा गाउँपालिकाको अध्यक्ष छन् । बुवा माओवादीमा प्रवेश गर्नासाथ यादवलाई पनि माओवादीले गाउँपालिकाको अध्यक्षको टिकट प्रदान गरेको थियो ।