मलंगवाको सडक अतिक्रमण खाली गर्न सूचना जारी

125

सर्लाही- सदरमुकाम मलंगवाको मुख्य बजार क्षेत्रको सडकमा भइरहेको अतिक्रमण खाली गराउने प्रयास थालिएको छ ।

अतिक्रमणकै कारण अव्यवस्थित र कुरुप अवस्थामा रहेको मलंगवा बजारको सडक कालोपत्रे हुन सकेको छैन् । मलंगवा बजारको मुख्य सडक दायाँबायाँ साँढे ८–८ मिटर कायम गर्ने गरी नगरपालिकाले सूचना जारी गरेको हो । ३० दिनभित्र सो मापदण्डभित्र पर्ने संरचना खाली गर्न सूचना जारी गरिएको मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले बताए । उनका अनुसार वडा नम्वर १० स्थित बाबा स्वामी मठदेखि राजश्री सिनेमा हलसम्म सडक निर्माण गर्न लागिएको छ । तर मलंगवा बजारको सडकको दुवै तर्फ ठूल्ठूला घर, व्यापारिक सर्टर र कार्यालयहरु रहेकाले अतिक्रमण हटाउन नगरपालिकालाई निकै ठूलो चूनौति रहेको स्थानीय जानकारहरुले बताएका छन् ।

जिल्ला सदरमुकाम भएपनि मलंगवाले रुप फेर्न सकेको छैन् । साँघुरो सडक, जथाभावी पार्किङ, अव्यवस्थित ढल र फोहोरमैलाजस्ता समस्याले मलंगवा बजार कुरुप देखिने गरेको छ ।