सहकारी मार्फत गाउँ गाउँमै रेमिट्यान्स सेवा

93

सर्लाही-पछिल्लो समय गाउँकै सहकारी संस्थाहरुले रेमिट्यान्स सेवा प्रदान गर्न थालेपछि सर्लाहीको ग्रामीण भेगका नागरिकलाई सहज हुन थालेको छ ।

देशका विभिन्न ठाउँबाट र विदेशबाट आफन्तले पठाएको रकम झिक्न बजार नै धाउनु पर्ने बाध्यता अन्त्य भएपछि सर्वसाधारणले राहत महसुस गरेका छन् । २० स्थानीय तह रहेको सर्लाहीमा सबै स्थानीय तहमा बैङ्क तथा वित्तीय संस्थाको पहुँच पुगिसकेको छ । गाउँपालिकाको केन्द्रमा खुलेका बैङ्कहरुले पनि रेमिट्यान्स सेवा प्रदान गरिरहेका छन् । गाउँपालिकाको केन्द्र बाहेक भित्री बस्तीमा रहेका सहकारी संस्थाले पनि रेमिट्यान्स सेवा प्रवाह गरेपछि सर्वसाधारणले छिटो र सहजरुपमा सेवा पाएका हुन् ।

युवाहरु बिदेशिने क्रम बढिरहेको अवस्थामा गाउँकै सहकारी संस्थाहरुले रेमिट्यान्स सेवा सूरु गरेपछि सहज भएको चन्द्रनगर गाउँपालिकाका रामकैलाश रायले बताए । जिल्लाको लालबन्दी, बयलवास, नवलपुर, हरिवन, बरहथवा, मलङ्गवालगायतका मुख्य बजार क्षेत्र, पालिकाका केन्द्र र ग्रामीण भेगका सहकारी संस्थाले सञ्चालन गरेको रेमिट्यान्सबाट दैनिक लाखौंको कारोवार हुने गरेको छ । ती बैङ्क तथा वित्तीय संस्थामा दैनिक सयौं सेवाग्राही सेवा लिन पुग्ने गरेका छन् ।