ब्रह्महपुरीमा भूमिहिनलाई लालपूर्जा वितरण

138

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–७, नोकेल्वामा १९ मुसहर परिवारलाई गाउँ ब्लक जग्गाको जग्गाधनी पूर्जा वितरण गरिएको छ । वर्षौदेखि गाउँ ब्लकको जग्गा जोतभोग गर्दै आएका भूमिहिनलाई गोश्वारा नापी कार्यालय मलङ्गवा, जिल्ला भूमि अधिकार मञ्च सर्लाही र सामरी उत्थान सेवा संस्थाको समन्वयमा नोकेल्वास्थित वडा कार्यालयबाट जग्गाधनी पूर्जा वितरण गरिएको हो । घरघडेरी र खेतको रुपमा जोतभोग गरिरहेका परिवारलाई गाउँ ब्लक अन्तर्गतको जग्गाको लालपूर्जा वितरण गरिएको गोश्वारा नापी कार्यालय मलङ्गवाका प्रमुख सीताराम रायले जानकारी दिए । लालपूर्जा पाएपछि जग्गाधनी निकै खुशी भएका छन् । १०५ परिवारलाई पूर्जा वितरण गर्ने लक्ष्य लिएपनि १९ परिवार बाहेक अन्यले आवश्यक कागजात साथमा नल्याएकाले पूर्जा वितरण गर्न नसकिएको रायले बताउनुभयो । छुटेका परिवारलाई नागरिकता, फोटोलगायतका कागजात लिएर गोश्वारा नापी कार्यालय मलङ्गवा बोलाइएको छ । पूर्जा हात परेका परिवारले अब आफू बसोवास गरिरहेको गाउँ ब्लकको जग्गा राखेर बैङ्कबाट ऋण लिन, अङ्शबण्डा गर्न र बेचबिखन गर्न पाउने भूमी अधिकार मञ्च सर्लाहीकी कार्यालय सचिव भवानी घिमिरेले बताईन् ।