सर्लाहीमा पनि विश्व पर्यटक दिवस विभिन्न कार्यक्रम गरी मनाइने

होटल तथा पर्यटन व्यवसायीले गरेको पत्रकार सम्मेलन । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी, असोज ६ – सर्लाहीका होटल व्यवसायीले पनि विश्व पर्यटक दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएका छन् ।

नेपाल होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीले बिहीबार लालबन्दीमा पत्रकार सम्मेलन गरी असोज ९, १० र ११ गते विभिन्न कार्यक्रम गरी दिवस मनाइने जानकारी दिएको हो । विश्व पर्यटक दिवस असोज ११ गते परेको छ ।

दिवसका अवसरमा असोज ९ गते सरसफाई कार्यक्रम राख्ने, मलंगवास्थित नेपाल–भारत सीमामा अन्य सरोकारवालासहित पुगेर भारतबाट आउने पर्यटकलाई स्वागत गर्ने, पर्यटकीय स्थलहरुबारे जानकारीमूलक होर्डिङ बोड राख्ने, होटलहरुमा विशेष छुट दिने लगायतका कार्यक्रम तय गरिएको नेपाल होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका अध्यक्ष हिराकाजी योन्जनले जानकारी दिए । पर्यटन वर्ष २०२२ लाई सफल बनाउन आफूहरुले यि कार्यक्रमहरु गर्न लागेको योन्जनले बताए ।

पत्रकार सम्मेलनमा लालबन्दी, हरिवन, बागमती, मलंगवालगायत स्थानमा रहेका होटल संचालकहरु उपस्थित थिए ।