सगुनको नाफा ४ करोड ६९ लाख, शेयर सदस्य ११ हजार नाघे

सगुन सहकारीको २३ औँ वार्षिक साधारण सभा समारोह । (तस्बीर : उज्यालो अभियान)

हरिवन – गत वर्ष मधेश प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भएको सर्लाहीको हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाले एक वर्षमा ४ करोड ६९ लाख रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेको छ ।

संस्थाले गत आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब ४७ करोड ४३ लाख ४८ हजार ३५५ रुपैयाँ ६१ पैसा सुद्ध कारोवार गरी ४ करोड ६९ लाख ८७ हजार ८२८ रुपैयाँ ७५ पैसा सुद्ध नाफा आर्जन गरेको हो । संस्थाको बिहीबार सम्पन्न २३ औँ वार्षिक साधारण सभामा संस्थाको वार्षिक आय–व्यय सार्वजनिक गर्दै सोबारे जानकारी गराइएको हो ।

संस्थामा शेयर सदस्यको संख्या ११ हजार १३० जना पुगेको संस्थाका प्रवन्धक रवीन्द्र रानाले जानकारी दिए । संस्थाका अध्यक्ष केशव ढकालको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यतामा सगुन शिक्षा आवासिय विद्यालयको प्राङ्गणमा भएको साधारण सभा उद्घाटन समारोहमा निवर्तमान प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेती, हरिवनका मेयर रमेश बुढाथोकी (कमल), बागमतीका मेयर भरतकुमार थापा, बरहथवाकी मेयर कल्पनाकुमारी कटुवाल, नेफस्कूनका संचालक हरेराम पटेल, राष्ट्रिय सहकारी बैंकका संचालक ध्रुवनारायण यादव, जिल्ला बचत संघका अध्यक्ष बाबुराम घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।

रक्तदान कार्यक्रम ।

साधारण सभाका अवसरमा संस्थाले आयोजना गरेको रक्तदान शिविरमा ७५ जनाले रक्तदान गरेका प्रवन्धक रानाले बताए । उनका अनुसार सभामा नियमित बचतकर्ता, बाल बचतकर्ता, उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य र संस्थाबाट ऋण लिएर व्यवसास गर्ने व्यवसायीलाई सम्मान समेत गरिएको छ ।

साधारण सभाकै अवसरमा संस्थाले आजबाट विधिवत् रुपमा आफ्नै वेबसाईडको समेत सुरुवात गरेको सगुन सहकारीले जनाएको छ ।