चक्रघट्टामा ७२५ जनाको निःशुल्क आँखा परीक्षण

चक्रघट्टा – सर्लाहीको चक्रघट्टामा बिहीबार आयोजित एक दिने आँखा शिविरबाट ७२५ जना लाभान्वित भएका छन् ।

सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा जनशक्ति युवा क्लब चक्रघट्टा ५ पडरियाले चक्रघट्टा बजारमा आयोजना गरेको शिविरमा ठूलो संख्यामा आँखाका बिरामीले उपचार सेवा लिएका हुन् । शिविरमा आँखा परीक्षा गरिएका ७२५ जनामध्ये १०० जनामा मोतियाविन्दु फेला परेको र उनीहरुलाई सदरमुकाम मलंगवासम्म लगेर मलंगवा आँखा अस्पतालमा निःशुल्क अप्रेसनको व्यवस्था मिलाइएको आयोजक जनशक्ति युवा क्लबका अध्यक्ष धिरेन्द्र ठाकुरले जानकारी दिए ।

शिविरमा आएका बिरामीलाई औषधि सहुलियत दरमा प्रदान गरिएको आयोजकले जनाएको छ । शिविरको उद्घाटन समारोहमा चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादव, वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत सन्जिव यादवलगायतको उपस्थिति रहेको थियो ।