चटयाङ लागेर घाइते ४ मध्ये ३ जना डिस्चार्ज, एक जना जनकपुर रेफर

ईश्वरपुरका मेयर मनोजकुमार आचार्य बिरामीलाई अस्पतालमा पुगेर भेट गर्दै । (तस्बीर : उज्यालो अभियान)

घारिबथान – सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १२ घारिबथानस्थित चुरेडाँडामा पर्ने गुईडुङ गाउँमा चट्याङ लागेर घाइते भएका ४ जनामध्ये ३ जना मंगलबार दिउँसो अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सोमबार अपरान्ह पानीसँगै चट्याङ पर्दा गुइडुङका २७ वर्षीय प्रेमबहादुर घलानको मृत्यु भएको थियो । चट्याङ लागेर मृतक घलानकी श्रीमती २६ वर्षीया नन्दीमाया घलान, ज्वाइँ २७ वर्षीय वुद्धबहादुर पाख्रिन, वुद्धबहादुरकी छोरी दुई वर्षकी प्रतिमा पाख्रिन र स्थानीय २७ वर्षीय रुद्रमान स्याङतान घाइते भएका छन् । उनीहरुमध्ये नन्दीमाया, वुद्धबहादुर र प्रतिमा जनसेवा अस्पताल बर्दिवासमा उपचारपछि मंगलबार दिउँसो घर फर्किएका हुन् ।

भित्री चोट रहेको आशंकामा रुद्रमानलाई भने थप उपचारका लागि अस्पतालले जनकपुर रेफर गरेको छ । घाइतेहरुलाई मंगलबार बिहान ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले अस्पतालमै पुगेर भेटेका छन् ।

सो घटनामा मृत्युभएका प्रेमबहादुरको शव प्रादेशिक अस्पताल जनकपुरमा पोष्टमार्टम गरी मंगलबार साँझ घर पुर्याइएको छ । मृतकको शव जनकपुरदेखि घारिबथानसम्म एम्बुलेन्समा ल्याई त्यहाँबाट एक घन्टाबढी झोलुंगोमा बोकेर साँझ ७ बजेतिर गुईडुङ गाउँमा पुर्याएको स्थानीय वीरबहादुर थिङले जानकारी दिए ।

गुईडुङ गाउँ ईश्वरपुर नगरपालिकाको विकट क्षेत्रमा पर्छ । सडक नपुगेको त्यहाँ चुरेको डाँडा सानो गोरेटो बाटो भएर जानुपर्छ ।

मंगलबार दिउँसोपख पनि त्यहाँ चट्याङसहित ठूलो पानी परेको छ । पाखोको चिप्लो बाटोमा सबै जनाले पालैपालो बोकेर मृतकको शव घारिबथानदेखि घरसम्म पुर्याएको स्थानीयवासी थिङले बताए ।

सोमबारको घटनापछि आकाश कालोमैले भएर पानी पर्लाजस्तो हुनासाथ स्थानीय डराउन थालेका छन् । चटयाङ लागेर मृत्यु र घाइते भएकाको परिवारमा आर्थिक अभाव रहेको स्थानीयले बताएका छन् ।