सर्लाहीबाट लागूऔषधसहित विभिन्न जिल्लाका ४ जना पक्राउ

भारतबाट ल्याईंदै गर्दा ब्रम्हपुरीमा बरामद् लागूऔषध ।

नवलपुर – सर्लाहीको दुई फरक-फरक स्थानबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।

प्रहरीले लालबन्दी र ब्रह्मपुरी गरी दुई ठाउँबाट प्रतिबन्धित लागूऔषधसहित चार जनालाई पक्राउ गरेको हो । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका-१, नवलपुर लच्काबाट पाँच किलो गाँजासहित धनुषाको सबैला नगरपालिका-१२, का ४१ वर्षीय विनोद महरा र ४२ वर्षीय राजाराम कापर पक्राउ परेका प्रहरीले जनाएको छ ।

लागूऔषध ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा महरा र कापर चढेको प्रदेश २–०२–००५ प २२०६ नम्वरको मोटरसाइकललाई लच्कामा रोकेर खानतलासी लिँदा झोलाभित्र लुकाएर राखेको पाँच किलो गाँजा प्रहरीले फेला पारेको हो । मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ आउँदै गर्दा पक्राउ परेका महरा र कापरलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तीन दिनअघि मात्रै लालबन्दी नगरपालिका–५, बाट पाँच किलो गाँजासहित मलंगवाका एक जना पक्राउ परेका थिए ।

त्यस्तै, नेपाल-भारत सीमावर्ती क्षेत्रस्थित सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-३, झिम खोलाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । खोलाको बाटो हुँदै भारततर्फबाट लागूऔषध लिएर आउँदै गर्दा प्रहरीले धादिङको निलकण्ठ नगरपालिका–४, बस्ने २९ वर्षीय निगम घले र सर्लाहीकै बागमती नगरपालिका–२, ढुंग्रेखोला बस्ने ३१ वर्षीय रवि खड्कालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीको त्रिभुवननगर बेश र प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको संयुक्त गस्ती टोलीले पक्राउ गरेको घले र खड्काको साथबाट लागूऔषध प्रोभिथा जाइन ३५ एम्पुल, डाइजेपाम ३३ एम्पुल र सादा नुरफिन ३३ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।