लालबन्दीमा साप्ताहिक निःशुल्क रक्तचाप परीक्षण शिविर सुरु

शिविरमा रक्तचाप परीक्षण गराउँदै मेयर बासुदेव अधिकारी । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकाले शुक्रबारबाट साप्ताहिक निःशुल्क रक्तचाप (ब्लड प्रेसर) परीक्षण शिविर संचालन गर्न सुरु गरेको छ ।

पहिलो चरणमा नगरको पाँच स्थानबाट शिविर संचालन गर्न थालिएको हो । पूर्व–पश्चिम राजमार्गमा पर्ने वडा नं. १ को नवलपुर, वडा नं. ६ को जनवादी चोक, वडा नं. ७ को मुख्य बजार चोक, वडा नं. ९ को बस्तीपुर र वडा नं. १७ को रानिगञ्जमा शिविर राख्न सुरु गरिएको लालबन्दी नगरपालिका स्वास्थ्य शाखाका सह–संयोजक सुरेन्द्र खतिवडाले जानकारी दिए ।

नगरले आफ्नै स्वास्थ्यकर्मीहरु परिचालन गरेर निःशुल्क रक्तचाप परीक्षण शिविर संचालन गर्न सुरु गरेको हो । “यस्ता किसिमको शिविर संचालन गर्न हामीसँग पर्याप्त स्वास्थ्यकर्मी हुनुहुन्छ,” स्वास्थ्य शाखाका सह–संयोजक खतिवडाले भने, “ शिविरमा आवश्यकता अनुसार प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र आभारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी परिचालन गछौँ ।“

शुक्रबार पहिलो दिन पाँचवटै स्थानमा बिहान ७ बजेदेखि १० बजेसम्म ३७३ जनाको रक्तचाप परीक्षण गरिएको नगरपालिका कार्यालयले जनाएको छ । अब प्रत्येक शुक्रबार ति पाँचवटै स्थानमा स्वास्थ्यकर्मी राखेर रक्तचाप शिविर चलाइने नगरप्रमुख बासुदेव अधिकारीले बताए ।

शिविरमा रक्तचाप परीक्षण गर्दा जटिल देखिएका बिरामीलाई प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमे रेफर गरिने बताइएको छ । नगरप्रमुख अधिकारीले पहिलो चरणमा राजमार्ग क्षेत्रमा सञ्चालन गरिएको यस प्रकारको शिविर प्रभावकारिता हेरी आगामी दिनमा अन्य वडाहरुमा पनि सञ्चालन गर्न सकिने बताए ।

“सुरुमा राजमार्ग क्षेत्रमा शिविर राखेका छौँ, यसबाट कस्तो प्रभाव पर्छ, त्यो हेरौँ, प्रभावकारी देखिए अन्य वडामा पनि यो कार्यक्रम लान्छौँ,” नगरप्रमुख अधिकारीले भने । १७ वटै वडामा स्वास्थ्यकर्मी उपलब्ध रहेकाले सबैतिर यस प्रकारको शिविर राख्न सकिने नगरप्रमुख अधिकारीको भनाई छ ।

नगरप्रमुख अधिकारीका अनुसार दुई हप्तापछिबाट रक्तचापसँगै मधुमेहको समेत निःशुल्क परीक्षणको व्यवस्था मिलाउने तयारी भइरहेको छ । यस शिविरबाट नियमित रक्तचापको औषधि सेवन गरिरहेका बिरामी र अन्य व्यक्तिहरुलाई पनि रक्तचापको अवस्था थाहा हुने अपेक्षा गरिएको छ ।