सर्लाहीलाई मधेश प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि

लालबन्दी – मधेश प्रदेश स्तरीय रामनारायण मिश्र फुटबल प्रतियोगिता २०७९ को उपाधि सर्लाहीले जितेको छ ।

मधेश प्रदेश सरकारको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा धनुषाको महेन्द्रनगरमा बुधबार साँझ सम्पन्न प्रतियोगिताको फाईनल खेलमा बारा जिल्ला फुटबल सङ्घलाई ट्राइबे्रकरमा ५–४ गोलले पराजित गर्दै सर्लाही जिल्ला फुटबल सङ्घ च्याम्पियन बनेको हो ।

निर्धारित समयको खेलमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि ट्राइबे्रकरमार्फत खेलको नतिजा निकालिएको आयोजकले जनाएको छ । जितसँगै सर्लाहीले ५० हजार रुपियाँ नगदसहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । दोस्रो भएको बाराले भने ३० हजार रुपियाँमा चित्त बुझाएको छ ।

प्रतियोगितामा सर्लाहीका सचु गुरुङले म्याद अफ दी सिरिज बन्दै २१ सय रुपियाँ नगद प्राप्त गरे । प्रतियोगिताको बिजेता तथा उपबिजेता र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई मधेश प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङले पुरस्कार वितरण गरेका सर्लाही जिल्ला फुटबल सङ्घका महासचिव कूलप्रसाद गौतम (शिवहरि) ले जानकारी दिए ।

यो प्रतियोगितामा खेल्नका लागि सर्लाही जिल्ला फुटबल सङ्घले विभिन्न फुटबल क्लबबाट २० जना खेलाडी छनौट गरेको थियो ।